कोरोना कहरः ब्यूटिशियनले दिन थाले होम डेलिभरी सेवा



काठमाडौं । ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै गत भदौको अन्तिम सातामा माइतीघर मण्डलामा व्यवसायीहरुले प्रदर्शन गरेका थिए ।

सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरी ४ जिल्लाका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

सरकारले कोरोना संक्रमणका बेला अन्य व्यवसायहरू सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर, शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न नदिएको भन्दै सरकारसमक्ष चलाउन पाउनुपर्छ भन्दै माग राखेका थिए ।

सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि पार्लर तथा शैलुन व्यवसाय खुलेको छ । तर, यसै लकडाउन र निषेधाज्ञाको समयमा भने विभिन्न ब्यूटिशियन तथा शैलुन एक्सपर्टरूले घरमा गएर सेवा प्रदान गर्दै आएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन निषेध गरेसँगै धेरै पुरुष तथा महिला पार्लर अवथा शैलुन जान नपाउँदा समस्यामा परेका थिए । यही सन्दर्भलाई जोड्दै सामाजिक सञ्जालमा विभिन्न प्रकारका व्यङ्ग्यात्मक ट्रोलहरू पनि सार्वजनिक भए ।

तर, लामो समयको बन्दाबन्दीका कारण बेरोजगार भएका र पार्लर पनि चलाउन नसक्ने अवस्थामा पुगेपछि व्यवसाय चलायमान बनाउनका लागि यस क्षेत्रमा कार्यरत व्यवसायीले घर–घरमा सेवा प्रदान गर्दै आएका छन् ।

लकडाउनले करिब ३ महिना पूर्णरूपमा बन्द भएको अनानेक ब्यूटीपार्लर तथा शैलुन एण्ड स्पाले आफ्नो नियमित सम्पूर्ण ग्राहकहरूले घर घरमा सेवा प्रदान गर्नुपर्ने माग राखेपछि घरघरमा सेवा प्रदान गर्दै आएको शैलुनका प्रबन्धक जुली राई बताउँछिन् ।

राईले लामो समयको बन्दाबन्दीका कारण सेवा लिन नपाएका ग्राहकहरूले नै सञ्चालन गर्नुपर्ने माग गरेसँगै विगत साढे दुई महिनादेखि सेवा प्रदान गर्दै आएको बताइन् ।

‘अनानेक बिउटीले उपत्यकामा रहेका सम्पूर्ण ग्राहकलाई ग्रुप वर्क गरेर सेवा दिई रहेका छौं,’ उनले भनिन्, ‘करिब दुई÷तीन दिनमा ४५÷५० जनालाई सेवा दिँदै आएको छौं ।’

यस्तै घरमा सेवा लिनक लागि सेवाग्राहीले एक÷दुई दिन अगाडि नै बुकिङ गर्नुपर्ने हुन्छ । राईका अनुसार अग्रीम बुकिङको लागि भाइबर, वाट्सअप तथा म्यासेन्जरबाट बुकिङ गर्न सक्ने बताइन् । एक÷दुई दिन अगाडि नै बुकिङ गरेको अवस्थामा सबै सामान तयार गर्न सजिलो हुने भएकाले अग्रिम बुकिङ गर्नुपर्ने उनी बताउँछिन् ।

त्यसैगरी, घरघरमा सेवा प्रदान गर्दा पार्लरको जस्तो सहज नभएता पनि अर्को फाइदा रहेको उनी बताउँछिन् ।

‘पार्लरमा आउँदा कपाल, फेसियलजस्ता अन्यकोलागि छुट्टाछुट्टै सेक्सनको व्यवस्था हुन्छ । तर, ग्राहकको घरमा जाँदा त्यहाँको व्यवस्था अनुसार नै चल्नुपर्ने हुँदा केही मात्रामा समस्या भइरहेको छ,’ उनले भनिन् ।

तर, घरमै सेवा दिन जाँदा लकडाउनको समयमा सबै परिवार हुने भएकाले मन पर्ने वित्तिकै अन्यले पनि चासो राखेकाले एउटैमा २÷३ जनालाई सेवा दिन पाइरहेको उनले बताइन् ।

यसका साथै, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै मूल्य पनि पहिलेको जतिनै रहेको उनको भनाइ छ । घरमा सेवा प्रदान गर्नको लागि बिउटीसियनहरूले पीपीई, मास्क, स्यानीटाइजरलगायत सीसीएमसीले तोकेको मापदण्ड पूरा गरेको उनको भनाइ छ । साथै, एकैदिनमा २० हजारभन्दा माथिको सामान प्रयोग गरेमा ग्राहकलाई गिफ्ट भौचरको पनि व्यवस्था रहेको छ ।

‘घरमै आउने पार्लर घरपर्लर अब घर घरमा पार्लर’ नाराका साथ गत बैशाख २५ गतेबाट ग्राहकहरूको मागअनुसार सेवा प्रदान गर्दै आएको घरपार्लर कम्पनीको संस्थापक नेपाली सुमनले जानकारी दिए । उनका अनुसार लकडाउनकै समयलाई सदुपयोग गर्नको लागि नयाँ संकल्पना गरेर घरपार्लर, सरसफाई, हाउसमेड, फोटोग्राफी तथा भिडियोग्राफी, बिजुलीको काम तथा प्लम्बिङको सुविधा दिँदै आएको बताए ।

पहिलो प्राथमिकता पार्लर भएका कारण कोरोनाको समयमा पनि दैनिक १० देखि १२ जनालाई घरमा गएर पार्लर तथा शैलुनको सेवा दिँदै आएको उनको भनाइ छ ।

साथै सीसीएमसीको मापदण्ड अनुसार नै सबै व्यवस्था गरेको घरमै गएर सेवा दिइरहेको हुनाले यस अवधिमा रोजगारी सिर्जना गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै, करिब लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका प्रोफेशनल बिउटीशियनहरूबाट सेवा प्रदान गरेको हुनाले ग्राहकहरूको राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

स्वास्थ्य सुरक्षाको मापदण्डमा कुनै कमी छैनः एशोसिएशन

विभिन्न आन्दोलन तथा छलफलपछि अहिले सबै खालका पार्लर तथा शैलुन खुल्ला अवस्थामा छन् । यस अवधिमा अन्य व्यवसायको तुलनामा स्वास्थ्यको मापदण्ड अपनाउनमा सबैभन्दा अगाडि पार्लर र शैलुन रहेको बिउटीशिसयन प्रोफेस्नल एशोसियसन अफ नेपालले दाबी गरेका छन् । अहिले सबै पार्लर तथा शैलुनले सीसीएमसीले तोकेको मापदण्ड पुरा गरेर मात्रै सेवा दिइरहेको एशोसियसनका अध्यक्ष कमला श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो समय घरघरमा बिउटीशियनहरूले सेवा दिँदै आएकोमा पनि बिउटीशयनले पीपीई, मास्क, पञ्जाजस्ता सम्पूर्ण मापदण्ड पूरा गरेकाले ग्राहकहरूलाई कुनै पनि समस्या अवस्था सिर्जना नहुने उनको भनाइ छ । साथै, पार्लर तथा शैलुनमा आएका ग्राहकलाई कुनै पनि शरिरमा बिरामीको समस्या देखिएमा सेवा दिनबाट बन्देज गरेको उनले बताइन् । त्यसैगरी, कोरोनाको समय भएकाले ग्राहकहरूको भीडभाड नगरीकन व्यवसायी चलाईरहेको उनको बुझाइ छ । साथै, व्यवसाय चलायमान बनाउन पछिल्लो समय विभिन्न प्रकारका आइडिया ल्याउँदै तङिग्रन खोजेको उनले बताइन् ।

करिब १८ हजार व्यवसायी विस्थापित

नेपालभसर करिब ३ लाख ५० हजार पार्लर तथा शैलुन व्यवसाय रहेको बिउटीशियन प्रोफेसनल एशोसियन अफ नेपालले जनाएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागू गरेको लकडाउन र निषेधाज्ञाले गर्दा करिब १८ हजार पार्लर तथा शैलुन व्यवसायी विस्थापित भएको एशोसियनका अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार लामो समयको बन्दाबन्दीले करिब ७ हजार व्यवसायी विस्थापित भएका थिए भने सरकारले पुनः निषेधाज्ञाले गर्दा त्यो संख्या बढेर १८ हजार पुगेको बताउँछिन् ।

कोरोनाको समयमा सबै व्यवसाय चल्यो तर, पार्लर शैलुन सञ्चालन गर्ने विषयमा सरकारलले कुनै चाँसो नराख्दा धेरै महिला तथा पुरुष बेरोजगार हुन पुगेको उनको भनाइ छ ।

एशोसियसनले विभिन्न तहको व्यक्तित्व तथा स्थानीय तहको सरकारसँग सबै खालको छलफल तथा मागपत्र बुझाउँदा पनि केही प्रतिक्रिया नआएपछि आन्दोलन गर्न बाध्य भएको उनी बताउँछिन् । ‘होटल, रेष्टुरेन्ट, यातायात सबै भीड हुने खुल्न दिए तर पार्लर तथा शैलुनले कोरोना सार्ने जत्तिकै गरेर हाम्रो व्यवसाय खुल्न दिएनन्,’ उनले आक्रोस पोखिन् ।

‘पार्लर तथा शैलुन मझौला तथा साना उद्यम भएका कारण यसको प्रत्यक्ष असर प्रति व्यक्तिलाई पर्दछ,’ उनले क्लिकमान्डूसँग भने, ‘यस क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नै लगानी गरेर चलाइरहेको हुनाले लकडाउन र निषेधाज्ञाको समयमा बेरोजगार भएर बन्द गर्नु परेको थियो । यसले गर्दा भाडा तथा श्रण निकालेर व्यवसाय गरिरहेकाले ब्याज तिर्न नसक्दा विस्थापित हुन बाध्य भएको हो ।’ यही बीचमा आफ्नो व्यवसाय बेच्न खोज्दा पनि नबिक्ने हुँदा धेरै मारमा परेको उनी बताउँछिन् ।

यसैगरी, लकडाउन र निषेधाज्ञाको समयमा करौडौंको घाटा व्यहोर्नुपरेकाले सरकारले राहत प्रदान गर्नुपर्नेमा एशोसियसनले जोड दिएको श्रेष्ठले बताइन् ।


पुष्प दुलाल