माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक ६ गते, दशैंअघि सेयरधनीले लाभांश पाउने



काठमाडौं । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते २२ औं बार्षिक साधारणसभा गर्ने भएको छ । सबैभन्दा पहिला लाभांस घोषणा गरेको माछापुच्छ्रेले दशैंअघि साधारणसभा गर्ने भएको हो ।

बैंकले दशैंअघि साधारणसभा गरेर लाभांश वितरण गर्दा कोरोनाको समयमा आर्थिक मारमा पारेका लगानीकर्ताहरुलाई दशैं खर्च जुट्न पनि सजिलो हुने देखिएको छ ।

बैंकले १०.४० प्रतिशत लाभांश घोषणा गरिसकेको छ । जसमध्ये चुक्ता पुँजीको ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

साभारणसभामा मर्जर, एक्विजिसन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक ठानेमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

साधारणसभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । साधारणसभा भर्चुअल रुपमा हुने छ ।

साधारणसभाले सर्वसाधारण समूहका सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

 


क्लिकमान्डु