ग्राहकको संरक्षण गर्न र गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो पहिलो पटक कार्यविधि



काठमाडौं । ग्राहकहरुको संरक्षण तथा गुनासो सुनाइका लागि पहिलो पटक कार्यविधि आएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि– २०७७ मंगलबारदेखि जारी गरेको हो ।

यसअघिसम्म वित्तीय क्षेत्रका ग्राहकले कुनैपनि गुनासो भएमा कहाँ, कसरी र कोसँग गुनासो गर्ने भन्ने विषयमा अन्यौलता भएकाले कार्यविधि जारी गरिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

अनुमति प्राप्त वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधिनमा रहि सबै प्रकारका ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा प्रवाहको सुनिश्चितता प्रदान गरी ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने उद्देश्यले कार्यविधि ल्याइएको हो । मर्का पर्न गएमा सोको समुचित सुनुवाई गरी उचित व्यवस्थापन गर्नु वित्तीय ग्राहक संरक्षण गर्न सो कार्यविधि जारी भएको उनको भनाइ छ ।

अबदेखि वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई गुनासो समेत न्यूनिकरण गर्नेछ ।

साथै, ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुलीलगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई समेत न्यूनीकरण गरिने जारी कार्यविधिमा उल्लेख गरिएको छ ।

सो कार्यविधि अनुमति प्राप्त गरेका बंैक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक/प्रदायक, विप्रेषण कम्पनी, मनिचेञ्चर तथा सो सम्बन्धी कार्य गर्ने एजेण्टलाई समेतलाई लागू हुने उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकले गुनासो व्यवस्थापनका लागि बरिष्ठ डेपुटी गभर्नरका संयोजकत्वमा समिति बनाएको छ । समितिमा अर्का डेपुटी गभर्नर सदस्यका साथै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सचिव र सदस्य हुनेछन् । साथै, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत सदस्य हुनेछन् ।

सो गुनासो व्यवस्थापन समितिमा अर्थमन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, एफएनसीसीआइका अध्यक्ष पनि हुने छन् ।

सो गुनासो व्यवस्थापन समितिमा बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग वा बेवास्ता गरी वा गैर जिम्मेवार कार्य गरी आर्थिक वा गैर–आर्थिक वा दुबै प्रकारको हानी पुग्ने कार्य गरेवा गराएको वा झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन÷दिन असहयोग गरेमा गुनासो गर्न सकिने छ ।

साथै, प्रचलित कानुन, नियम, निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा इकाईमा गुनासो निवेदन पेश गर्न सकिनेछ ।


क्लिकमान्डु