६ महिनासम्मको पारिश्रमिक त्यागेर स्वदेश फर्किए नेपाली श्रमिक



काठमाडौं । कोरोना भाइरस महामारीले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा पुगेका श्रमिकले ६ महिनासम्मको पारिश्रमिक त्यागेर नेपाल फर्केका छन् ।

विश्वव्यापी स्वास्थ्य संकटको बहानामा आप्रवासी श्रमिकहरुको हक अधिकार कुण्ठित गर्दै रोजगारीबाट निकाल्ने, पारिश्रमिक नदिने, स्वास्थ्य सेवाबाट बञ्चित गराउने जस्ता घटनाहरू भइरहेको गुनासोहरू बढ्दै गएका सन्दर्भमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा पीडित श्रमिकले करिब २ महिनादेखि ६ महिनासम्मको पारिश्रमिक नपाएको बताएका छन् ।

कोरोना महामारीका कारण निकै प्रभावित भएको व्यापार व्यवसायले गर्दा अन्तर्राष्ट्रियरुपमै समस्या बनेको पाइन्छ । यस्तै नेपालबाट २ लाख ५० हजार रुपैयाँ तिरेर इजिप्ट पुगेर फर्केकी मनमाया तामाङले ६ महिनाको मासिक तलब त्यागेर नेपाल फर्किनु परेको बाध्यता सुनाइन् ।

उनले म्यानपावरसँग मोटो रकम तिरे पनि इजिप्ट पुग्दा अफिस नै नभएको कम्पनीमा पठाएको उनले गुनासो पोखिन् । उनी इजिप्ट ४ वर्षसम्म कार्यरत हुँदा करिब ६ महिना बितिसक्दा पनि ३/४ महिनाको मात्रै मासिक तलब पाउने गरेको उनले बताइन् ।

साथै, नेपाल फर्किनुभन्दा एकदिन मात्रै कम्पनीले भोलिको टिकट तयार भएको भनेकाले पारिश्रमिक त्यागेर आउनु परेको हो ।

कोरोना महामारीले लकडाउन भएसँगै रोजगारी गुमेपछि दुई महिना यत्तिकै बस्नुपरेको कतारबाट फर्केका दिनेश पौडेलले जानकारी दिए ।

उनका अनुसार रोजगारी नभएको समयमा खानेलगायत सम्पूर्ण खर्च आफैले व्यहोर्नुपरेको उनले बताए । त्यसैगरी, कम्पनीले कहिले खाना दिने कहिले खाना नदिने समस्या भोग्दै नेपाल फर्किनु परेको उनी बताउँछन् । साथै, उनले पनि करिब २ महिनाको पारिश्रमिक नपाएको उनको भनाइ छ ।

यस्तै, मनमाया र दिनेशको जस्तै दिल बहादुर विश्वकर्मको पनि समस्या उस्तै रहेको छ । १५ दिनअघि मात्रै युएईबाट फर्केका दिलकुमार विश्वकर्माका अनुसार पनि २ महिनाको पारिश्रमिक नलिईकन नेपाल फर्किनुपरेको बताए ।

उनका अनुसार नेपालको म्यानपावरबाट नै ठगेको हुनाले भनेजस्तो पारिश्रमिक र काम नभएको भन्दै राजदूतावास र कम्पनीलाई गुनासो पोख्दा सुनुवाइ नभएको उनको भनाइ छ ।

साथै, फ्रि भिसा, फ्रि टिकटमा गएका हुनाले त्यहाँको कम्पनीले छोडेर गएमा ८ हजार दिराम तिर्नुपर्ने भएकाले निकै मारमा परेको उनले बताए ।

नेपालबाटै कानुनी तवरबाट समस्या समाधान गर्नुपर्छ – श्रम विज्ञ

वैदेशिक रोजगारीमा गएर कम्पनीबाट पारिश्रमिक नलिई नेपाल फर्केका नेपालीको नेपालबाटै कानुनी तवरबाट समस्याको समाधान गर्नुपर्ने श्रम विज्ञ सोम लुइटेलले बताए ।

उनका अनुसार सामान्य अवस्थामा कानुनी सेवा, भाषाको समस्याले गर्दा न्याय पाउने स्थिति नरहेको, पारिश्रमिक नपाउने, बेतलबी विदा बस्न बाध्य बनाउने र विरामीका लागि पेन्सन उपलब्ध नगराउने जस्ता समस्या भोगिरहेको हुनाले यसको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

यसका लागि रोजगारदाता, सम्बन्धित देश र अनर्राष्ट्रिय सामाजिक सञ्चाल तिनै तहको निकायको मुख्य भूमिका रहेको उनले जानकारी दिए ।

यदि कुनै पनि कम्पनीले पारिश्रमिक नदिएको खण्डमा श्रमिकले विवरण भरेर विभिन्न विधिबाट पारिश्रमिक पाउन पहल गर्न आग्रह गर्दै उनले भने, ‘पारिश्रमिक पाउन दिलाउनका लागि दूतावासले पहल गर्नुपर्ने, तलब नदिने रोजगारदातालाई कालोसूचीमा राख्नुपर्ने र श्रमिकले सबै मासिक तलब पाउनका लागि छिटो छरितो उपाय अपनाउनुपर्छ ।’

साथै, देशमा फर्केका सम्पूर्ण श्रमिकले मासिक तलब नपाई फर्किएको खण्डमा देशमा भएको कानुनको प्रयोग गरेर तलब पाउन सकिने बताए । त्यस्तै, परिश्रमिक नपाएको श्रमिकले त्यसबारे उजुरी गर्नुपर्ने उनले सुझाए ।

करार अवधि सकेका श्रमिक झन मारमा – श्रम काउन्सुलर

कोरोना महामारीका कारण नियमित उडान भएसँगै करार अवधि सकेर नेपाल फर्किन नपाएको श्रमिक सबैभन्दा बढी मारमा परेको सम्बन्धित देशमा श्रम कन्सुलरहरूले बताएका छन् ।

यस्तै साउदी अरबस्थित रहेको नेपाली श्रम काउन्सुलर जीवन राइका अनुसार कोरोनाको डरले धेरैभन्दा धेरै श्रमिकको मानसिकता नेपाल फर्किन पाउँ भन्ने रहेकोले आउन बाँकी भएको पारिश्रमिक नलिई नेपाल फर्केको बताए ।

‘कोरोनाको डरले घर जान पाउँ भनेर हतार गर्ने क्रममा रकम छोडेर आएका छन्,’ उनले भने, ‘धेरै श्रमिकले परिवार भेट्न पाए हुन्छ र महामारीको समयमा टिकट काटेर सुनिश्चितसँग नेपाल आउन पाउँ भन्ने रहेको छ ।’

साथै, धेरै कम्पनीमा कार्यरत कामदारको अवधि सकेको धेरै गुनासो आएको उनी बताउँछन् । यसमा पनि एक्जिट भिसा पाएको ६० दिनभित्र त्यो देश छोड्नपर्ने नियम हुन्छ तर श्रमिकलाई ४५ दिनसम्म पनि एक्जिट हुनुपर्ने कुरा थाहा हुँदैन ।

जसले गर्दा धेरैले करार अवधि सकेर वैधानिक रुपमा बस्न बाध्य भएको बताए । यस्तै कोरोनाको डरले एक्जिट पाएको श्रमिकले फर्म भर्न ढिला गर्ने र एक्जिट नपाएको श्रमिकले अगाडि नै फर्म भर्ने जस्तो समस्याले गर्दा धेरै मारमा परेको उनको भनाइ छ ।

यसैगरी युएईका युएईस्थित नेपाली श्रम काउन्सुलर निर्मला थापाका अनुसार कोरोनाको अवधिमा कामदार र कम्पनीबाट दबाब आउन थालेको बताए ।

कोरोनाले गर्दा सबै कम्पनी बन्द भएको अवस्थामा रोजगारदाताले कसरी मासिक तलब दिने भन्ने रोजगारदाताको गुनासो छ भने कामदारहरूले मासिक रुपमा पारिश्रमिक नपाएको हुनाले निकै समस्या परेको उनको भनाइ छ ।

साथै, यस कोरोनाको अवधिमा करिब ९० हजारभन्दा बढीको करार अवधि सकेको उनले अनुमान गरिन् ।

भयावह स्थिति छैन् – पराराष्ट्र मन्त्रालय

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीको हालसम्म आइपुग्दा भयावह स्थिति नरहेको परराष्ट्र मन्त्रालयका सह–सचिव हरिश चन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पहिले कोरोना फैलिँदा सरकारले त्यहाँ कार्यरत श्रमिकले भयावह स्थिति व्यहोर्नुपर्ने अनुमान गरेको थियो तर अहिले सामान्य अवस्था रहेको बताए ।

हालसम्म सरकारले ३० हजार फर्काइसकेका छन् भने ५० हजार अझै आउन चाहने नेपालीको आवेदन मन्त्रालयसँग रहेको उनले बताए । साथै, अति प्रभावित क्षेत्रबाट सबैभन्दा बढी श्रमिक बेरोजगार भएको उनको भनाइ छ ।


क्लिकमान्डु