बुटवलको ‘भुषाल ग्रुप’ व्यापारबाट उद्योगमा, लकडाउनमै अर्बमा बिशाल सिमेन्ट किन्यो



काठमाडौं । गत चैत ११ गतेदेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन गर्यो । कोरोना आतंकसँगै आएको लकडाउनले आर्थिक गतिविधि ठप्प बनायो ।

कतिपय उद्योगी/व्यवसायीहरुले चैतदेखि नै कर्मचारी कटौति मात्रै गरेनन् । राखिएका कर्मचारीहरुको तलबसमेत कटौति गरे ।

कुनै उद्योगी/व्यवसायीलाई सोध्नुभयो भने जवाफ आउँछ ‘कोरोनाले बर्वाद पार्यो, हामी त सडकमै झर्ने भयौं ।’

व्यवसायीहरुले यसरी निराशा बाँडिरहँदा व्यावसायिक जगतमा आशाको खबर लिएर आएको छ भूषाल ग्रुप ।

उक्त ग्रुपले लकडाउनकै समयमा १ अर्ब रुपैयाँमा बिशाल सिमेन्ट किनेको छ ।

व्यवसायीका रुपमा बालकृष्ण भुसाल बुटवल र भैरहवा क्षेत्रमा परिचित नाम हो । भुसाल ट्रयाक्टरले चिनाएको उनको परिचय उद्योगीका रुपमा अब परिवर्तन हुँदैछ ।

उद्योगहरु ट्रेडिङतर्फ लाग्दै गएको समयमा ट्रेडिङबाट उदाएका भुसाल भने उद्योगमा केन्द्रित भएका छन् ।

अर्घाखाँचीमा जन्मिएर गुल्मीमा बसाइँ सरेका भुसाल व्यापारको सिलसिलामा भैरहवा र बुटवलमा व्यवसायको प्रभुत्व कायम गरे । लामो समयसम्म ती क्षेत्रमा पकड बनाइ काम गरिरहेका उनी पछिल्लो समय व्यवसायलाई राजधानी काठमाडौंमा केन्द्रित गरेका छन् ।

गत बिहीबार भारी वर्षा भइरहेको समयमा हामी उनको नयाँ कार्यालय गौशालामा पुग्दा उनी मिटिङमा व्यस्त थिए । केही समयअघि मात्रै खरिद गरेको कम्पनी विशाल सिमेन्टको हस्तान्तरण सम्बन्धि कानूनी प्रक्रिया पूरा गर्दै थिए ।

‘अब ५ प्रतिशत सेयर मात्रै नामसारी हुन बाँकी छ, त्यसैको काममा व्यस्त छु,’ उनले क्लिकमाण्डूसँग भने ।

लामो समय बुटवलमा केन्द्रित भई ट्याक्टर, वायर, हस्पिटालिटी तथा मिडियालगायतका व्यवसायमा लगानी गरेका उनी पछिल्लो समय विशाल सिमेन्टको सम्पूर्ण सेयर खरिद गरेका छन् ।

भुसालले सिमेन्टमा हात हालेको यो दोस्रो पटक हो । यसअघि उनले २०५७ सालमा बुद्ध सिमेन्टमा लगानी गरेका थिए । तर त्योबेलामा पार्टनरमा लगानी गरेका थिए । उनले १८ महिनापछि त्यहाँबाट बाहिरिए ।

सिमेन्ट व्यवसायबाट बाहिरिएको २० वर्षपछि उनी फेरि सिमेन्ट उद्योगमा लगानी गर्न आइपुगेका छन् । त्यो पनि एकल स्वामित्वमा । हालसम्म उनले पार्टनरसिपमा कुनै पनि उद्योग तथा व्यवसायमा लगानी गरेका छैनन् ।

पछिल्लो समय सिमेन्ट उद्योगमा सकारात्मक संकेत नदेखिएका बेलामा सिमेन्ट उद्योगमा हात हालेका भुसाल व्यवसायको बिस्तारमा दृढ देखिए ।

‘मलाई थाहा छ, अवस्था उत्साहजनकरुपमा सुखद नहोला तर हामीसँग अनेकन विकल्प छन्, व्यवसाय र बजार विस्तारका लागि हामीसँग विकल्प छन्, व्यवसाय चलाउनका लागि समस्या छैन,’ उनले भने ।

कुल १ अर्ब २ करोड ५० लाख रुपैयाँमा विशाल सिमेन्टको सम्पूर्ण सेयर खरिद गरेका उनी आगामी दिनमा यसलाई विस्तार गरी प्रदेश नम्बर ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा व्यापकरुपमा पुर्याउने योजना बनाएको हामीलाई सुनाए ।

त्यतिमात्रै होइन, हाल ८ सय मेट्रिकटन क्षमतामा सञ्चालित उद्योगको क्षमता दोब्बर बनाएर १६ सय पुर्याउने योजना समेत बनाएका छन् । साथै बिशाल सिमेन्टको बजार विस्तार गर्दै सुर्खेतमा क्लिङकर उत्पादन गरी बिक्री गर्ने समेत योजना बनाएको छ भने दाङ र नेपालगञ्जमा समेत व्यापार बिस्तार गर्ने योजना बनाएको छ ।

भुसाललाई सबैभन्दा बढी चिनाएको नाम हो ‘न्यू होल्यान्ड’ ट्रयाक्टर ।

सन् १९९५ मा स्थापना भएको कम्पनी भुसाल मोटर्स न्यू होल्यान्ड ट्रयाक्टरको आधारिकारिक बिक्रेता हो । कम्पनीको बजार क्षेत्र नेपालमा मेचीदेखि महाकालीसम्म फैलिएको छ ।

सबैभन्दा बढी पहाडी क्षेत्रमा बिक्री भएको यो ट्रयाक्टर, विभिन्न विमानस्थलमा पनि उत्तिकै प्रयोग हुँदै आएको छ । पहाडमा मात्रै कम्पनीले ९० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

व्यवसायीक यात्रा

बालकृष्ण भुसालले १३ वर्षको उमेरदेखि नै व्यवसाय शुरु गरेका थिए । तत्कालिन समयमा गुल्मीको सदरमुकाम तम्घासमा भाँडा व्यवसाय शुरु गरेपछि केही समयमा उनी बुटवल झरेका थिए ।

बुटवलमा आइसकेपछि उनले गल्ला व्यवसायमा हात हाले । उनले शंकर राइस मिलमा लगानी गरेर व्यापार शुरुवात गरे ।

व्यवसाय विस्तारका क्रममा २५ वर्ष अघि सन् १९९५ मा उनले भुसाल मोटर्स कम्पनी स्थापना गरी ट्याक्टर व्यवसाय शुरु गरे । जसले उनलाई व्यवसायिक उचाइ दिन सफल भयो ।

त्यसको ५ वर्षपछि सन् २००० मा रामकृष्ण इन्टरप्राइजेज नामक कम्पनीको शुरुवात गरे । सन् २०१० मा आइपुग्दा उनले बीएस मोटर्स प्रालि स्थापना गरे ।

सन् २०१३ मा उनले भुसाल अटो ट्रेड लिंक प्रालि नामक अर्को कम्पनी स्थापना गरे । व्यवसायिक यात्राको ग्राफ उकालो लाग्दै गर्दा ग्रुपल सन् समूहले सन् २०१७ मा आर्या ग्रुप अफ कम्पनीज प्रालि, भुसाल केवल एन्ड वायर इन्डस्ष्ट्रिज प्रालि र ट्राभललाइट नेपाल डटकम प्रालिको पनि शुरुवात गर्यो ।

त्यसको १ वर्षपछि सन् २०१८ मा आर्या केवल एन्ड वायर इन्डस्ष्ट्रिजसँगै बुटवलमा होटल मेगाको तेस्रो संस्करण पनि शुरु गरे । साथै सोही वर्ष टाइम्स एजुकेशन सेक्टर प्रालि र थिंक एन्ड ग्रो एजुकेशन प्रालि नामक शैक्षिक परामर्श दातृ संस्था समेत शुरुवात गरे ।

भुसाल समूहले सन् २०१९ मा कार्या इभेन्टस् प्रालि स्थापना गरेको छ । जसले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने काम गर्दछ । अवार्ड कार्यक्रमहरु, वार्षिक कार्यक्रम, कन्फरेन्स तथा सेमिनार, वर्कसप तथा तालिम, फिस्ट एन्ड फेयरसँगै वर्थडे कार्यक्रम, एनिभर्सरी कार्यक्रम, विवाहिक समारोहलगायतका कार्यक्रमको समेत काम गर्दै आएको छ ।

कम्पनीले सन् २०२० मा त्रिकोण बिजनेस ग्रुप प्रालि स्थापना गरेको छ । जुन कम्पनीले इलेक्ट्रिक र इलेक्ट्रिोनिक्स सामानहरु आयात गरी बिक्री गर्दै आएको छ ।

वायरमा लगानी

भुसाल समूहले सन् २०१७ मा भुसाल केबल एन्ड वायर इन्डस्ट्रिज प्रालिमा लगानी गरी व्यवसाय थप विस्तार गरेको छ । उक्त कम्पनीले मल्टि स्ट्यान्डर्ड वायर ए टु जेड, पावर केबल, एसीएसआर कन्डक्टर, हाउस वायरलगाउतका कैयन उत्पादन गर्दै आएको छ । कम्पनीले हालैका दिनमा ७१३ मिलियन रुपैयाँका लागि रेटिङ समेत गराएको । केयर रेटिङले कम्पनीलाई ए फोर ग्रेड दिएको छ ।

कम्पनीले सन् २०१८ को तुलनामा सन् २०१९ मा आम्दानी ६२० प्रतिशतले बढाएको थियो भने सन् २०२० मा आम्दानी ११७ प्रतिशतले बढाएको छ ।

पर्यटन क्षेत्रमा लगानी

भुसाल समूहले पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्यले सन् २०१० मा मेगा लुम्बिनी ट्राभल्स एन्ड टुर कम्पनीको स्थापना गरेको थियो । हाल कम्पनीले भैरहवामा पाँच तारे होटल ‘होटल मेगा’ र बुटवलमा चार तारे होटल ‘होटल मेगा’मा लगानी गरिसकेको छ ।

पाँच तारे होटल मेगामा १ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा हुनेछ भने क्यासिनो मात्रै ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । यसको निर्माण अवधि २ वर्षका लागि तोकिएको छ । ११७ वटा रुम रहने होटलको प्रोमोटरमा बालकृष्ण भुसाल र अमृत भुसाल छन् ।

त्यसैगरी बुटवलमा शुरु गरिएको चार तारे होटल मेगा तेस्रो इडिसन ५५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । होटलमा ६१ वटा रुम हुनेछन् भने निर्माण सम्पन्न भइसक्ने अवधि ३ वर्षका लागि राखिएको छ ।

त्यसैगरी कम्पनीले हवाई टिकट बिक्री गर्नका लागि सन् २०१७मा ट्राभललाइट नेपाल प्रालि नामक कम्पनी स्थापना गरिसकेको छ ।

बैंकिङ क्षेत्रमा पनि लगानी

भुसाल समूहको लगानी उद्योगसँगै बैंकिङ क्षेत्रमा पनि छ । भुसालका अनुसार उनको समूह मुख्य लगानीकर्ताका हिसाबले मेगा बैंकमा लगानी गरेको छ भने साइन रेसुङगा विकास बैंकमा समेत लगानी गरेको छ ।


कमलकुमार बस्नेत