घर र सवारी कर्जा फिक्स्ड ब्याजदरमा, कुन बैंकले कतिमा दिन्छन् ?



काठमाडौं । बैंकबाट कर्जा लिएर सवारी किन्ने वा घर बनाउने सोचमा हुनुहुन्छ ? पछिल्लो समय बैंकहरुले कम र तोकिएको समयसम्म ब्याजदर नबढ्ने गरी सवारी तथा घर कर्जा प्रवाह गरिरहेका छन् ।

अहिले कोरोना भाइरसको कारण अन्य क्षेत्रका नयाँ व्यापार व्यवसायबाट प्रायः कर्जाको माग नभएको बैंर्कसहरु बताउँछन् । जसकारण बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको छ । उत्पादनमुलक क्षेत्रका व्यापार व्यवसाय तथा परियोजनामा कर्जाको माग नहुँदा बैंकहरुले घर कर्जा, गाडी कर्जा, सेयर धितो कर्जा लगायतमा निश्चित समय तोकेर स्थिर ब्याजदर सार्वजनिक गर्न थालेको हुन् ।

साथै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर बनाउन निर्देशन दिएसँगै केही बैंकहरु यसको कार्यन्यवन गर्न तर्फ समेत लागेका हुन् ।

भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ३४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । निक्षेप संकलनको तुलनामा बैंकहरुमा ठुलो परिमाणका कर्जाको माग नभएपछि बैंकहरुले व्यक्तिगत कर्जामार्फत् नै लगानी बढाउने रणनीति अपनाएका देखिन्छ । व्यक्तिगत कर्जामा सबैभन्दा बढी बैंकहरुले घर तथा सवारी कर्जालाई प्राथमिकतामा राखेका छन् । जसअनुसार विभिन्न बैंकहरुले सहुतियत र सुविधा सहित फिक्स्ड ब्याजदरमा प्रतिस्पर्धामक रुपमा सवारी तथा घर कर्जा योजना ल्याएका छन् ।

फिक्स्ड ब्याजदरमा कुन बैंकले दिन्छन घर तथा सवारी कर्जा ?

अधिकांश बैंकहरुले असोजबाट लागु हुने ब्याजदर सार्वजनिक गरी सकेका छन् । जसमध्ये एनएमबी बैंकले ८.९९ प्रतिशतमा २ वर्षे र १०.७५ प्रतिशतमा ५ वर्षे घर कर्जा प्रवाह गर्ने भएको छ । साथै बैंकले घरको छानामा राख्ने सोलार कर्जा १० वर्षको लागि ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंकले एक वर्षभन्दा माथि ५ वर्षसम्म १०.९८ प्रतिशतमा घर कर्जा र ३ वर्षे सवारी कर्जा १०.७३ प्रतिशत, ५ वर्षे सवारी कर्जा ११.४८ प्रतिशतमा प्रवाह गरिरहेको छ । साथै सानिमा बैंकले १५ वर्षे घर कर्जा र ५ वर्षदेखि ७ वर्षसम्मको लागि सवारी कर्जा ८.२५ प्रतिशत ब्याजदरमा प्रवाह गर्ने भएको छ ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकले न्यूनतम १ वर्षदेखि १० वर्षसम्मका फिक्स्ड ब्याजदरमा पनि घर कर्जा र सवारी कर्जा प्रवाह गर्ने भएको छ । बैंकले ७ वर्षे र १० वर्षे घर कर्जाको क्रमशः १०.५० प्रतिशत र १२.५० प्रतिशत ब्याजदरमा निर्धारण गरेको छ । साथै, बैंकले ७ वर्षे र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ प्रतिशत र १३ प्रतिशत निर्धारण गरेको छ ।

यस्तै, नबिल बैंकले ३६औं वार्षिक उत्सबको अवसरमा एक बर्षलागि ७.४९ प्रतिशत ब्याजदरमा घर कर्जा र ७.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने घोषणा गरिसकेको छ । साथै राष्ट्रिय वाणिज्य बैंकले एक बर्षको लागि ७.२५ प्रतिशतमा घर कर्जा प्रवाह गरिरहेको छ ।
यसअघि नै सनराइज बैंकले ‘सनराइज सरल एस.एम.ई कर्जा’ नामक योजना ल्याएको थियो । उक्त योजना अन्र्तगत बैंकले ८.९५ प्रतिशत ब्याजदरमा ४० वर्षे घर कर्जा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु