अधिक तरलता भएपछि ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ खिच्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिन थालेपनि केन्द्रिय बैंकले ३० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो । यो उपकरणको नाम ‘निक्षेप संकलन’ रहेको छ ।

बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिनु पर्ने राष्ट्र बैंकले जनाएको छ । यो २८ लिनको लागि मात्रै हो । उक्त उपकरणको साँवा र ब्याज कात्तिक ६ गते भुक्तानी हुने राष्ट्र र्बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने छ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ । बोलकबोलका लागि घटीमा १ करोड र बढीमा १ करोड रुपैयाँले भाग गर्दा निःषेश भाग जाने गरी कुल आव्हान गर्न सकिने छ ।


क्लिकमान्डु