बैैंकहरुलाई प्रिमियममा छुट दिँदै कर्जा योजना ल्याउन राष्ट्र बैंकको रोक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रिमियममा छुट दिएर कर्जा योजना ल्याउन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका-२०७७ जारी गर्दै एकपटक निर्धारण भएको प्रिमियमदरमा सो दर घटाएर अतिरिक्त छुट प्रदान गर्न नपाउने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकद्वारा जारी निर्देशिकामा भनिएको छ- ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।’
सो व्यवस्थाअनुसार बैंकहरुले एकपटक तय गरेको प्रिमियमदरमा छुट्टै प्रकारको अफरका योजना ल्याई थप–घट गर्न नपाउने राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।
‘अहिले बैंकहरुले समय तोकेर बेसरेटमा यति प्रतिशत प्रिमियममा यस्तो कर्जा भनेर योजना सार्वजनिक गरिरहेका छन्, जुन समय सकिएपछि स्वतः बढ्ने हुन्छ,’ कार्यकारी निर्देशक ढकालले क्लिकमाण्डूसँग भने ‘अब भने एकपटक तय भएको प्रिमियमदरमा डिस्काउन्ट दिएर गरी पुनः बढ्ने त्यस्तो प्रकारका योजना ल्याउन पाइँदैन ।’
बैंक तथा वित्तीय संस्थाले एकपटक कर्जा एग्रिमेन्टमा उल्लेख गरेको प्रिमियम सधैलाई त्यही नै हुनुपर्ने उनले जानकारी दिए ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्ताउँदा लगानीयोग्य रकम बैंकमा नै थुप्रिएको छ ।
जसकारण बैंकहरुले विभिन्न आकर्षक छुटसहितका कर्जाका नयाँ रणनीतिहरु ल्याइरहेका छन् । राष्ट्र बैंकले गरेको सो व्यवस्थाको कारण बैंकहरुलाई प्रिमियमदरमा छुट दिँदै कर्जा योजना ल्याउन अंकुश लागेको छ ।