बैंक तथा वित्तीय संस्थाले केवाइसी फारम विद्युतीय माध्यमबाट भराउन सक्ने, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब विद्युतीय माध्यमबाट ई-केवाइसी अद्यावधिक गर्न सक्ने भएका छन् ।
मगलबार केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीका लागि जारी एकीकृत निर्देशिका-२०७७ मा ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी उचित नीति तथा कार्यविधि बनाउन भनेको छ ।
जारी निर्देशिकाले विद्युतीय माध्यमबाट ग्राहक पहिचान फारम भर्नका साथै विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरेको हो ।
सो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणहरुको सूची, सही कागजात तथा विवरणहरु प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमितरुपमा सम्पुष्टि गरिने विधि समेत तय गरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय कम्पनीले विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवम् दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त उपायहरु अवलम्बन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
साथै, नेपाल सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ ।
त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिनेछ । यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणहरुको सूची, सही कागजात तथा विवरणहरू प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा सम्पुष्टि गरिने विधि समेत तय गरको हुनुपर्नेछ । विद्युतीय माध्यमबाट गरिने कारोवारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपायहरु अवलम्बन गर्नुपर्नेछ । साथै, नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।