संगठित संस्थाको सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा गरिने लगानीको सीमा संशोधन



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा गर्ने लगानीको सीमालाई संशोधन गरेको छ ।

यसअघि संगठित संस्थाहरुको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म तथा ‘घ’ वर्गको वित्तीय संस्थामा गरेको लगानीको हकमा उक्त संस्थाको चुक्ता पुँजीको २५ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको थियो ।

उक्त व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था गरेको हो ।

लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा यसरी बढी लगानी भएको रकम बराबर पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गरिने भन्ने पुरानै व्यवस्थालाई कायम नै राखेको छ ।

कुनै संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाहरुको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने व्यवस्थालाई कायमै राखेको राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकामा उल्लेख छ ।


क्लिकमान्डु