प्रधानमन्त्रीसँग निजी क्षेत्रको मागः हाम्रा कर्मचारी कामदारको ३३ % तलब सरकारले दिनुपर्यो



प्रधानमन्त्री केपी शर्मा ओलीसँग निजी क्षेत्रले आफ्ना कर्मचारीको ३३ प्रतिशत तलब सरकारले दिनुपर्ने माग गरेको छ ।

अर्थमन्त्रालयको समेत कार्यभार समालेपछि प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग बालुवाटारमा भेट्न बोलाएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल उद्योगी वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले लकडाउन मात्र गरेर कोभिड १९ नियन्त्रण नहुँने भन्दै आर्थिक क्रियाकलापलाई खुकुलो बनाउनुपर्ने माग राखिन् ।

उनले पुनरकर्जा कोषलाई २ खर्ब पुर्याउन तथा यसमा साना तथा मझौला व्यवसायीलाई प्राथमिकता दिन र साना तथा मझौला व्यवसायीलाई ब्याजमा ५० प्रतिशत छुट दिनुपर्ने बताइन् ।

महासंघले उद्योगीलाई विद्युत् मशुलमा २० प्रतिशत छुट दिनुपर्ने तथा परिस्थिती सहज नहुँदासम्म विद्युत्को डिमाण्ड शुल्कमा छुटलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

महासंघ अध्यक्ष राणाले प्रधानमन्त्रीसँग निजी क्षेत्रमा काम गर्ने कर्मचारीको ३३ प्रतिशत तलब असहज परिस्थितीमा सरकारले दिनुपर्ने माग राखिन् ।

‘असहज परिस्थितीमा कर्मचारीलाई जागिबाट निकाल्नु हुँदैन भन्ने हाम्रो चाहना हो, अहिलेको समस्यालाई सेयरिङमा लैजानको लागि ३३ प्रतिशत तलब सरकारले दिएमा सहज हुन्छ,यो रकम ६ अर्बजति लाग्ने देखिएको छ,’राणाले भनिन् ।

यस्तै महासंघले बैंकको ब्याज ३ वर्षसम्म ७ प्रतिशत नबढ्ने गरेर स्थिर राख्नुपर्ने तथा सावा ब्याज ३ वर्षसम्म तिर्ने समय पुनरसंरचना गर्नुपर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु