भारतमा पब्जीसहित थप ११७ एप प्रतिबन्ध



भारत सरकारले पछिल्लो समय निकै लोकप्रिय बनेको गेम पब्जीसहित थप ११७ मोबाइल एपमा प्रतिबन्ध गरेको छ । चीन र भारतबीच तनाव बढिरहेको बेला भारतले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको हो ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै ११८ वटा एपलाई प्रतिबन्ध गरेको जनाएको छ । बन्द गरिएको एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको र विश्वस्त सूचना आफूसँग रहेको भारतको सुचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सुचनामा यस कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने बताइएको छ । भारतको राष्ट्रिय सुरक्षा र प्रतिरक्षासँग जोडेर हेर्दा यी विवरणहरूको एकीकरण र प्रधोधनले भारतको सार्वभौमसत्ता र अखण्डता जोेखिममा पु¥याउने मन्त्रालयले जनाएको छ ।

टिकटक प्रतिबन्ध भएको भारतमा अर्को चिनियाँ एप ‘स्न्याक’को लोकप्रियता बढ्यो, २ करोड बढी डाउनलोड

मन्त्रालयका अनुसार भारत सरकारलाई यस एपको बारेमा विभिन्न माध्यमबाट गुनासोहरू प्राप्त भइरहेको उल्लेख गरेको छ । ‘एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताको डाटाको दुरुप्रयोग र अनाधिकृत रुपबाट भारतबाहिर सारेको उजुरी परेको छ,’ मन्त्रालयले भनेको छ ।

हालसम्म २२४ वटा एप बन्द

भारत सरकारले केही समयअगाडि जुन महिनामा लोकप्रिय एप टिकटकसहित ५९ वटा एपमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

भारतले १५ जुनमा भारत र चीन सैनिकबीच झडप भएको केही दिनपछि प्रतिबन्ध निर्णय लिएको थियो । उक्त झडपमा भारतको २० सैनिकको मृत्यु भएको थियो । त्यसपछि सरकारले फेरी ४७ एस बन्द गरेको थियो । यो सबै मिलाएर हालसम्म भारत सरकारले २२४ वटा एस बन्द गरिसकेको छ ।

भारत सरकारले फेरि पनि ११८ वटा एस प्रतिबन्ध गर्ने भएको छ । एप बन्द गर्नुको कारण पछिल्लो समय चीन र भारतबीच फेरी लद्दाखमा वास्तविक नियन्त्रण सीमाबारे झडप रहेको जनाएको छ । यस सीमाका कारण चीन र भारतबीच निकै तनाव बढिरहेको छ ।

गल्वान उपत्यकामा द्वन्द्वपछि तनाव कम गर्नका लागि भइरहेको प्रयासबीच चीनले फेरी एलएसीको उल्लङ्घन गर्न खोजेको भारतले आरोप लगाएको छ ।

भारतको विदेश मन्त्रालयको प्रवक्ता अनुराग श्रीवास्तावले मंगलबार चीनलाई २९ र ३० अगस्टको रात पैंगोंग तालको दक्षिण किनारमा सैनिक कारबाही उक्साएर यथास्थिति भंग गर्ने प्रयास गरेको बताएका छन् ।

यद्यपि चीनले मंगलबार यसलाई अस्वीकार गर्दै भारतलाई उत्तेजक कार्य रोक्न भनिएको छ । साथै, तुरुन्तै कन्ट्रोल अफ लाइन वा एलएसीको गलत काम अर्थात उल्लंघन गरेका आफ्ना सेनालाई फिर्ता लिन निर्देशन दिएको छ ।

हालै अमेरिकाले पनि धेरै चिनियाँ एप प्रतिबन्ध लगाएको छ । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूलाई टेन्सेन्टको विच्याट प्लेटफर्मबाट व्यापार गर्न रोक्न आदेश दिएको छ ।

ह्वाइट हाउसका प्रेस सल्लाहकार पिटर नभारोले अमेरिकी प्रशासनले चीनबाट थप एपमा पनि प्रतिबन्धित गर्नेबारे विचार गरिरहेको बताएका छन् ।


क्लिकमान्डु