तलबमा प्यान अनिवार्य, एकवर्षमा ९ लाख ८२ हजारले लिए प्यान



काठमाडौं । गतवर्षको बजेट मार्फत अर्थमन्त्री डा युवराज खतिवडाले कुनैपनि संघ संस्था तथा कम्पनीले तलब दिदा व्यक्तिगत स्थायी लेखा नम्बर(प्यान) अनिवार्य चाहिने व्यवस्था गरे ।

सो व्यवस्थाले एकवर्षमा प्यान नम्बर लिनेको संख्या शतप्रतिशतले बढेको देखिएको छ । अर्थमन्त्रालयका अनुसार २०७६ सालको असार मसान्तसम्ममा प्यान लिनेको संख्या ९ लाख ९३ हजार ८० जनाले प्यान नम्बर लिएका थिए । यो संख्या एकवर्षमा बढेर १९ लाख ७५ हजार ९३१ पुगेको छ ।

एकवर्षमा मात्रै प्यान लिनेको संख्या ९ लाख ८२ हजार ८५१ जनाले बढेको हो ।

यस्तै गतवर्षदेखि संस्था तथा कम्पनीले गर्ने १ हजारभन्दा बढीको खरिदमा समेत खर्च कट्टीको लागि प्यान अनिवार्य थियो । सो व्यवस्थाले व्यवसायिक संस्थाले लिने प्यान नम्बर समेत बढेको छ ।

गतवर्ष असार मसान्तसम्ममा ११ लाख ७८ हजार ३८३ वटा व्यवसायिक प्यान नम्बर लिनेको संख्या थियो । यो वर्षको असार मसान्तमा यो संख्या १ लाख ९४ हजार ४७४ ले बढेर १३ लाख ७२ हजार ८५७ पुगेको छ ।


क्लिकमान्डु