लकडाउनका कारण क्रेडिट कार्डको कारोबार घट्यो, प्रयोगकर्ता पनि घटे



काठमाडौं । लकडाउनका कारण क्रेडिट कार्डबाट हुने कारोबारमा १६.३८ प्रतिशतले कमी आएको छ । सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय बन्द हुँदा क्रेडिट कार्ड प्रयोग गर्नेहरु समेत ८.३८ प्रतिशतले घटेका छन् ।

लकडाउनको ४ महिनामा अर्थिक गतिविधि प्रायः ठप्प हुँदा क्रेडिक कार्ड प्रयोगकर्ता घट्नुका साथै यसमार्फत् हुने कर्जाको कारोबार समेत घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नेपाल क्रेडिट कार्ड वाणिज्य बैंकहरुलाई मात्र प्रयोगमा ल्याउन राष्ट्र बैंकले अनुमति दिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकका फागुन मसान्तसम्म १ लाख ६० हजार २९७ जना क्रेडिट कार्ड प्रयोगकर्ता थिए ।

लकडाउनको ४ महिनामा १३ हजार क्रेडिट कार्ड प्रयोगकर्ता घटेर गत आर्थिक वर्षको असार मसान्तसम्म १ लाख ४६ हजार ८ सय ५६ जनामा सीमित भएका छन् ।

के हो क्रेडिट कार्ड, कसरी प्रयोग गरिन्छ ?
क्रेडिट कार्ड भनेको विद्युतीय भुक्तानी कार्ड हो । बैंकले ग्राहकलाई सोको आधारमा सीमा तोकेर क्रेडिट कार्ड जारी गर्छ । हाल नेपालमा बैंकहरुले कार्डको सीमा आम्दानीको शतप्रतिशतदेखि दोब्बरसम्म राखेका हुन्छन् ।

बैंकहरुले क्रेडिट कार्ड जारी गरे पनि उनीहरु यसको भुक्तानीलगायत प्रक्रियाका लागि भने भिसा, मास्टर कार्ड जस्ता भुक्तानी प्रदायक कम्पनीको सदस्यता लिएका हुनुपर्छ । क्रेडिट कार्ड जारी गर्दा बैंकहरुले त्यस वापत केही प्रतिशत शुल्क लिन्छन् भने, सेवा लिए वापत बैंकले मासिक वा वार्षिक शुल्क समेत लिने गर्छन् ।

यसको प्रयोग सामान वा सेवा खरिद गर्दा उत्पादक, वितरक वा सेवा प्रदायकलाई भुक्तानी गर्नका लागि प्रयोग गरिन्छ । कार्डको प्रयोगकर्ता बैंकले तोकिको सीमा भित्र रहेर एटिएम मेसिनबाट रकम निकाल्न पनि सक्छन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो खातामा पैसा नभएपनि बैंकले तोकेको सीमासम्मको रकम खर्च गरेर वस्तु तथा सेवा खरिद गर्दा बैंकले सोको भुक्तानी गरिदिन्छ । ग्राहकले भने कार्डमार्फत खर्च गरेको रकम स्टेटमेन्ट आएको न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बैंकमा भुक्तानी गर्नुपर्छ ।

यस अवधिमा ग्राहकले कार्डमार्फत् खर्च भएको रकम बैंकमा बुझाउँदा ब्याज लाग्दैन । तर, त्यो अवधि नाघेको अवस्थामा ग्राहकले ‘विलम्ब शुल्क’ सहित केही प्रतिशत ब्याज समेत तिर्नुपर्छ ।

फस्टाउन नसकेको क्रेडिट कार्डको कारोबार लकडाउनले अझ घटायो

नेपालमा पहिलोपटक २०५० सालमा नबिल बैंकले क्रेडिट कार्डको शुरुवात गरेको थियो । अहिले सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले क्रेडिट कार्ड जारी गरेका हुन्छन् । नेपालमा क्रेडिट कार्ड प्रयोगको शुरुवात भएको २७ वर्ष बितिसक्दा पनि यसको प्रयोगकर्ता र कारोबार भने फस्टाउन सकेको छैन् ।

फस्टाउन नसकेको क्रेडिट कार्डमार्फतको कारोबार लकडाउनको ४ महिनामा १६.१६ प्रतिशतले घटेको छ । गत आवको फागुन मसान्तसम्म बैंकहरुले २ अर्ब ८ करोड ५० लाख रुपैयाँ क्रेडिट कार्डमार्फत् कर्जा प्रवाह गरका थिए ।

जुन गत आवको असार मसान्तसम्म आइपुग्दा ३३ करोड ७० लाख रुपैयाँले घटेर १ अर्ब ७४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पुस मसान्तसम्म क्रेडिट कार्डमार्फत् बैंकहरुले २ अर्ब १ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु