पहिलो महिनामा १९.६ प्रतिशतले आयात घट्दा, निर्यात ८.८७ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १९.६ प्रतिशतले आयात घटेको छ । गत आव २०७६/७७ कोे सोही अवधिको तुलानामा २० अर्ब ९१ करोड ५७ लाख रुपैयाँले अन्य मुलुकबाट वस्तु तथा सेवाको आयात घटेको हो ।

गत आवको साउन मसान्तसम्म नेपालले १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको साउन महिनामा भारत लगायत तेस्रो मुलुकबाट नेपालले ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको भनसार विभागले जनाएको छ ।

यसैगरी, चालु आवको सुरुवातबाटै निर्यातमा भने सुधार देखिएको छ । गत आवको पहिलो महिनामा नेपालबाट ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो । जुन चालु आवको सोही अवधिमा ८.८७ प्रतिशत अर्थात् ७८करोड ३४ लाख रुपैयाँले बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

आयातको तुलनामा निर्यात बढेता पनि नेपालको अन्य मुलकको व्यापार घाटाको खाल्डो भने अझै अर्बौ रुपैयाँको छ ।

नेपाल अन्य मुलकबाट गर्ने आयातको तुलनामा निर्यात बढाउन नसक्दा चालु आवको पहिलो महिनामा ७६ अर्ब १८ करोड रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २१ अर्ब ६९ करोड रुपैयाँ थोरै हो । गत आवको साउन महिनामा नेपालको व्यापार घाटा ९७ अर्ब ८८ करोड रुपैयाँ थियो ।

कोरोना भाइरसको कारण विभिन्न नाकाहरु बन्द हुँदा नेपालले गत चैतबाट आवश्यक परिमाणमा वस्तु तथा सेवा आयात गर्न सकेन सोही कारण राजश्व संकलन गत आवको तुलनामा १७.०४ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको साउन महिनामा यस्तो राजश्व २७ अर्ब ५४ करोड रुपैयाँ थियो । जुन चालु आर्थिक साउन महिनामा ४ अर्ब ६९ करोड रुपैयाँले घटेर २२ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु