एसईईका विद्यार्थीलाई टेलिकमको अफरः निःशुल्क सिम, एसएमएस र डाटा प्याक



काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुलाई विद्यार्थी अफर प्याकसहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।

कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरेको जनाएको छ ।

नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश-पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा मागबमोजिम स्वतः ई–शिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफर सहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।


क्लिकमान्डु