चालु आवको २ साताभित्रै ३ जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब लगानीको प्रतिबद्धता



फाइल तस्बिर

काठमाडौं । चालु आर्थिक वर्षको दुई साताभित्र ३ कम्पनीले जलविद्युत् आयोजना निर्माणका लागि उद्योग विभागमा आवेदन दिएका छन् ।

चालु आव शुरु हुँदै गर्दा ९० मेगावाट क्षमताका ३ जलविद्युत् आयोजना निर्माणका लागि आवेदन दर्ता गरेका हुन् । उद्योग विभागका अनुसार म्याग्दीमा २ र लमजुङमा एउटा जलविद्युत् आयोजना निर्माणका लागि उद्योगहरुले आवेदन दिएका हुन् ।

उद्योग विभागको तथ्यांक अनुसार म्याग्दीमा सुस्मित इनर्जी प्रालिले २० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवेदन दिएको हो । कम्पनीले म्याग्दीको धौलागिरी गाउँपालिका–४ मा आयोजा निर्माणका लागि आवेदन दर्ता गरेको हो । कम्पनीको कुल पुँजी ३ अर्ब ८३ करोड ४ लाख ६८ हजार ३२१ रुपैयाँ छ ।

त्यसैगरी सोही स्थानमा हाइड्रो भिलेज प्रालिले १० अर्ब १८ करोड ७४ लाख ७० हजार १९५ रुपैयाँको कुल लागतमा ५७.३० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्नका लागि विभागमा आवेदन दर्ता गरेको छ ।

विभागका अनुसार लमजुङको मस्र्याङदी गाउँपालिका–६ मा हव पावर प्रालिले १२.५ मेगावाट जलविद्युत् निर्माणका लागि आवेदन दर्ता गरेको छ ।

३ वटा जलविद्युत आयोजनमा १३६ जना प्रत्यक्ष रोजगारी पाउने आवेदनमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा कुल ३९ वटा जलविद्युत् आयोजना निर्माणका लागि आवेदन दिएका छन् । कुल ५६० मेगावाट क्षमताका आयोजनामा कुल ९८ अर्ब रुपैयाँ लगानी गर्ने आवेदनमा उल्लेख छ । जसबाट १ हजार ९६५ जनाले प्रत्यक्ष रोजगार पाउने कम्पनीहरुले आवेदनमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु