ललितपुर र भक्तपुरमा प्रसारण लाइन भूमिगत गर्न ग्लोबल टेन्डर



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको ललितपुर र भक्तपुरमा समेत विद्युत् प्रसारण लाइन भूमिगत गर्ने भएको छ ।
प्रसारण लाइन भूमिगत गर्ने प्रयोजनका लागि प्राधिकरणले ग्लोबल टेन्डर गरेको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणका काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र माहतका प्रसारण लाइन भूमिगत गर्ने काम शुरु भइसकेको छ ।

कोरोना कारण महाराजगन्ज क्षेत्रको प्रसारण लाइन भूमिगत गर्ने काममा व्यवधान पैदा भएको भएपनि चाबहिल क्षेत्रमा भने उल्लेखनीय काम भएको छ ।
कोरोनाका कारण कामदार अभाव भएपछि महाराजगन्ज र रत्नपार्क क्षेत्रमा भने काम हुन सकेको छैन ।

सरकारले लकडाउन समेत खोेलीसकेको अवस्थामा अब कामलाई गति दिने तयारीमा प्राधिकरण जुटेको छ । यस्तै दोस्रो चरणमा काठमाडौंका अन्य स्थानमा तार भूमिगत गरिनेछ ।

शहरी सौन्दर्य बढाउने लक्ष्यका साथ प्राधिकरणले काठमाडौं उपत्यका, भरपुर, बुटवल, पोखरा, विराटनगरलगायतका शहरी क्षेत्रमा समेत प्रसारण लाइन भूमिगत गर्ने तयारी गरेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा ती क्षेत्रमा तार भूमिगत गर्न लागिएको हो ।

सोही लक्ष्यका साथ दोस्रो चरणको कार्यक्रम अनुसार प्राधिकरणले लगनखेल, पुल्चोक क्षेत्रमा प्रसारण लाइन भूमिगत गर्न लागेको हो ।

यस्तै भक्तपुर र ठिमी क्षेत्रमा समेत प्रसारण लाइन भूमिगत गर्ने तयारी थालेको छ । प्राधिकरणले आगामी सेप्टेम्बर २३ सम्म बोलपत्र दिन निर्माण व्यवसायीलाई आग्रह गरेको छ ।

प्रसारण लाइन भूमिगत गरिएपछि अवरोध रहित ऊर्जा उपलब्ध गराउन सहयोग पुग्नेछ । प्राधिकरणले भूमिगत गर्न लागेको प्रसारण लाइनमा ४ हजार र ११ हजार किलोभोल्ट क्षमताका छन् ।


क्लिकमान्डु