पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘डेडलाइन’मा सकिन मुस्किल, कोरोनाले पार्यो प्रभाव



काठमाडौं । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ ।

सन् २०२१ जुलाई १० को डेडलाइनभन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यसवर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ ।

बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्णजनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् ।

आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

‘आयोजना ६ महिनाअघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यसवर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो,’ उनले भने, ‘कोभिडले ६ महिना असर गरिसक्यो, अझ एक÷दुई महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेड्युलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौं ।’

आयोजना सम्पन्न हुने मिति एकवर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्ट्रक्चरको काम सम्पन्न भएको, उपकरण जडान र फिनिसिङमात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ ।

उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।

आयोजना प्रमुख मुनकर्मीले भने ‘विशेषगरी इक्युपमेन्ट इन्सटलेसन र भवनको फिनिसिङको काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदारसमेत भदौ १ गतेपछि आउनेछन्, कोभिड–१९ नभएको भए अहिले ७२ देखि ७५ प्रतिशत लक्ष्य पूरा गर्ने थियौँ ।’

कोरोनाका कारण घर गएका नेपाली कामदार बन्दाबन्दी अन्त्यसँगै पुनः काममा फर्किन चाहेका जनाइएको छ । निर्माण कम्पनी सीसीएमसीले पीसीआर परीक्षण नगरीकन आयोजनास्थलमा प्रवेश नदिने जनाएकाले प्रदेश तथा स्थानीय सरकारसँग परीक्षण व्यवस्था मिलाउन आग्रह गरिएको आयोजनाले जनाएको छ ।

करिव ६२ प्रतिशत काम सम्पन्न
चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र सीएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ ।

आयोजनाको ल्याण्डसाइडतर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग, सिँचाइ नाला, पानी बाहिर पठाउने आउटलेटिङ तथा कल्भर्डको काम सकिएको छ ।

त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङगरलगायतको सिभिल संरचना र कङिक्रट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

भवनमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ । जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ ।

ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री दुई महिनापछि मात्र आयोजनास्थलमा आइपुग्ने छन् ।

इपिसि मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्ययन अर्जनाइजेशन (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा विमानस्थल निर्माण भइरहेको हो । यहाँ बोइङ ७५७ र एयरबस-२१९ मोडलका न्यारोबडी विमानको उडान तथा अवतरण हुनेछ ।

विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका-१४ मा विसं २०३२ मा पहिलोपटक तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

त्यसपछि विभिन्न चरणमा ५२६, ६० र पछिल्लोपटक ९० रोपनी अधिग्रहण गरिएको छ । विमानस्थलले ३ हजार ८०० रोपनी क्षत्रेफल आगेटेको छ । पछिल्लोपटक गत चैत १० गते अवतरणका लागि विमानलाई नियन्त्रण गर्ने उपकरण ग्लाइड पाथका लागि आवश्यक १०४ रोपनीमध्ये सरकारी १४ रोपनीबाहेक स्थानीयबासीको ९० रोपनी जमिन अधिग्रहणका लागि सूचना निकालिएकामा ६० जनाले मुआब्जाका लागि निवेदन दिएको आयोजनाले जनाएको छ ।

जमिन अधिग्रहणको चार दशकभन्दा बढी समयपछि विमानस्थल निर्माण प्रक्रिया शुरु भएको हो ।


क्लिकमान्डु