४ वटा बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबारमात्रै विभिन्न ४ वटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । जसमा एनसीसी बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल एसबीआई बैंक छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजमा प्रायः बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत छ । तर बचतमा भने सबै बैंकले फरक–फरक ब्याज कायम गरेका छन् ।

एनसीसी बैंक
एनसीसी बैंकको मुद्दतीतर्फको ब्याज व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागतरुपमा ६.५० प्रतिशत छ । त्यस्तै बचतमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज छ । हाल बैंकले १४ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकको चैत मसान्तको आधार दर १०.३६ प्रतिशत छ । बैंकबाट ऋण लिँदा १५.३६ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट सेयर धितोकर्जा, होम लोन, शैक्षिक धितो कर्जा, सलर कर्जालगायत अन्य कर्जा लिँदा १५.३६ प्रतिशत ब्याज लाग्ने छ ।

हिमालयन बैंक
हिमालयन बैंकको पनि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.७५ प्रतिशतदेखि २ वर्षे मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म  र संस्थागतमा ७ प्रतिशत छ । यस्तै बचतमा विदेशी मुद्रामा न्यूनतम ०.२५ प्रतिशत १ प्रतिशतसम्म र स्वदेशी मुद्रामा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५  प्रतिशतसम्म ब्याज छ ।

बैंकको चैत समान्तसम्मको आधार दर ८.८७ प्रतिशत छ । बैंकबाट ऋण लिँदा अधिकतम १३.८७ प्रतिशतसम्म छ । बैंकबाट डिमान्ड लोन, टर्म लोन, एसएमई लोन, शैक्षिक धितोकर्जा, होम लोन, अटो लोन, हायर पर्चेज लोन लिँदा १३.८७ प्रतिशत ब्याज लाग्ने छ ।

प्रभु बैंक
प्रभु बैंकले पनि बिहीबार नै नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको उक्त ब्याजदरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत रहेको छ । यस्तै बचतमा न्यूनतम १ र अधिकतम ५ प्रतिशत ब्याज रहेको छ । चैत मसान्तसम्मको बैंकको आधारदर ८.९८ प्रतिशत छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज छ ।


क्लिकमान्डु