‘बैंकका उच्च अधिकारीले कृत्रिम ऋणी खडा गरी ऋण अपचलन गरे’



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कानूनको बर्खीलाप गरी आफूखुसी कर्जा दिने गरेको पाइएको छ ।

बैंकका उच्च व्यवस्थापनले कर्जाबाट व्यवसाय सञ्चालन हुने सुनिश्चितता नगरी तथा धितो जमानतको उचित प्रबन्ध नगरी गलत मूल्यांकनमा कर्जा प्रवाह गरेको देखिएको हो ।

महालेखा परीक्षकले ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी आपसी मिलोमतोमा नै कृत्रिम ऋणी खडा गरी ऋण दिएको जनाएको छ । महालेखा परिक्षकद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘कतिपयमा व्यवस्थापकले प्रयोग गर्ने गरी कर्जा प्रवाह भएको देखिन्छ ।’

त्यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा समेत निक्षेपमा प्रचलित दरभन्दा बढीको ब्याज दिएका छन् । सार्वजनिक प्रतिवेदनअनुसार बैंकहरुले तोकिएको समयमा प्राप्त नभएको साँवा तथा ब्याज खराब ऋणीबाट रकम असुल गरेका छैनन् भने असल ऋणीलाई उचित समयको मौका नदिई तत्काल धितो बिक्री गरी ऋण असुल गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षमा २८ वाणिज्य बैंकमध्ये १५ र २९ विकास बैंकमध्ये २४ को समष्टिगत निरीक्षण गरेको थियो । त्यसैगरी १२ वित्तीय संस्थाको सम्पत्ति शुद्धिकरणको विषयमा निरीक्षण गरेको छ । सो समष्टिगत निरीक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कानुन विपरीत काम कारवाही भएको खुलेको हो ।

महालेखा परीक्षकको कार्यालयले खराब ऋणीलाई कारवाही गर्ने, असल ऋणीलाई उचित संरक्षण गर्ने तथा निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेर मात्र कर्जा प्रदान गर्ने व्यवस्था कायम गर्न अनुगमनलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

 


क्लिकमान्डु