अहिलेको ब्याजदरले व्यवसाय चल्न सक्दैन, घटाउनुको विकल्प छैनः पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर कसरी कम गर्ने भन्ने विषय नै अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् ।

मौद्रिक नीतिको सन्दर्भमा सोमबार अर्थसमितिको बैठकमा धारणा राख्दै उनले ब्याजदरका कारण औद्योगिक व्यवसाय समेत चल्न नसक्ने अवस्थामा नरहेको गुनासो गरे ।

‘यो आजको मात्रै चुनौती होइन । अहिलेको ब्याजदरले चल्न सक्ने अवस्था छैन, अब ब्याजदर कम गरी स्थिर राख्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

उनले कोरोनाका कारण समस्यामा परेका र संकटमा फसेका क्षेत्रले पैसा पाउन सक्छन् कि सक्दैनन् भन्ने विषय नै आजको प्रमुख चासोको क्षेत्र भएको बताए ।

उनले पर्यटन, यातायात क्षेत्र जस्तै शैक्षिक क्षेत्र समेत समस्यामा परेको र केही समयपछि चलाउनै नसक्ने अवस्थामा पुग्ने अवस्था आएको तथ्य तर्क पेश गरे ।

उनले सरल कर्जालाई बढी संकट भएको क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै होटल तथा पर्यटन क्षेत्रलाई पनि प्राथमकिता दिँदै तत्काल लाभ हुने अन्य क्षेत्रमा समेत लगानी गर्न सुझाए ।


क्लिकमान्डु