तिनाउ मिसन विकास बैंकको साधरणसभा सम्पन्न, हकप्रद सेयर दिने
बुटवल । तिनाउ मिसन डेभलपमेन्ट बैंकका १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई ३ः१ कित्ता बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने तथा बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूंजीको ३ः१(तीन कित्ता वरावर थप एक कित्ता शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल बैंकको चुक्तापुँजी १ अर्ब ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्ब ५० करोड निक्षेप संकलन गरी १२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । साथै ५३ वटा शाखा कार्यालयबाट बैंकिङ कारोबार गरिरहेको र यसै क्षेत्रका तीन वटा बैंकहरु मिलेर बनेको बैंकले अब राष्ट्रियस्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज तथा एक्विजिसन भई बनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको उक्त साधारणसभामा आव २०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको थियो ।
सभामा संचालक समितीमा संस्थापक शेयरधनी तर्फबाट जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा, ऋषिराम पाण्डे र शालिकराम वेलवासे एवं सर्वसाधारण शेयर धनीका तर्फबाट विपिन पौडेल र अनिल प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत नेत्रबहादरु नेपालले गरेका थिए ।
साधारणसभा पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक जीवनप्रसाद ओझालाई बैकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतीले निर्वाचित गरेको छ ।