व्यवसायी सुरज वैद्यको सिमेन्ट उद्योग ह्वासिनलाई २० मेगावट विद्युत्



काठमाडौं । चिनियाँ लगानीको ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई २० मेगावाट विद्युत् आवश्यक पर्ने भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा निर्माणाधिन अवस्थामा रहेको उक्त उद्योगलाई आवश्यक पर्ने विद्युतका लागि प्रसारणलाइन निर्माण शुरु गर्न लागिएको छ ।

विद्युत् विकास विभागले आइतबार एक सूचना प्रकाशित गर्दै १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको जनाएको छ । हाल उद्योगको भौतिक निर्माण ७० प्रतिशतको हाराहारीमा पुगेको छ ।

लकडाउनको समयमा समेत नेपाली र चिनियाँ कामदारले लगातार काम गरिरहेका कारण अन्य आयोजनामा समस्या भए पनि उक्त उद्योगमा भने कुनै समस्या नरहेको उद्योगको भनाइ छ । उक्त उद्योगलाई १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत् २० मेगावाट विद्युत् उपलब्ध गराउने तयारीमा विभाग छ ।

धादिङको मलेखुु सवस्टेसनदेखि उद्योग स्थलसम्म ३६ वटा टावर निर्माण गरिनेछ । त्यसका लागि राइट अफ वेमा पर्ने २२.९८ हेक्टर जग्गा स्थायी वा अस्थायीरुपमा अधिग्रहण गरिने भएको छ । चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले माग गरेको ८० मेगावाट विद्युत् प्राप्त गर्न नसकि डिजल प्लान्ट चलाइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेको व्यवसायी वैद्य समेतको लगानी रहेको उक्त उद्योगलाई विद्युत् आपूर्तीमा समस्या नहोस भन्ने ध्येयका साथ प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

सो प्रसारण लाइन कुल लम्बाइ १२.४ किलोमिटर छ । धादिङको सिद्धलेख गाउँपालिका ६ मा सवस्टेसन निर्माण गरी विद्युत् उपलब्ध गराउने तयारीमा विभाग छ । उक्त उद्योगको कुल लागत १४ अर्ब रुपैयाँ छ । उद्योगले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु