सिटिजन्स बैंकमा गाभियो सहयोगी विकास बैंक, एकीकृत कारोबार सुरु



काठमाडौं । सिटिजन्स बैंकमा सहयोगी विकास बैंक गाभिएको छ ।

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरे ।

एकीकृत कारोाबार पछि सिटिजन्स बैंकको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । धनुषा, महोत्तरी मा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एकीकृत कारोबार कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास भण्डारीले जाहेर गरे ।

त्यसै गरी साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकान्त झा “जीवन” ले सहयोगी विकाश बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ झन् सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे ।
उनले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे ।


क्लिकमान्डु