लकडाउनमा पत्रकारलाई जागिरबाट निकाल्न पाइँदैन भन्दै पत्रकार महासंघको प्रदर्शन



काठमाडौं । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो ।

लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो ।

पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्ेमवारी विहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले महासंघले प्रदर्शन गरेको छ ।

पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रित हुने उनको भनाइ छ ।

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सन्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

लकडाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।


क्लिकमान्डु