असारमा बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायी सडकमा



उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समिति’ले काठमाडौंको बसन्तपुर न्यूरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमाण्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्नेगरी सम्बन्धित सबैपक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताए ।

उनले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पस्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गराए ।

उनले असार महिना भित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंक समक्ष माग गरिएको बताए ।

उद्योगी व्यवसायीहरु ‘आफु पनि बाचौं अरुलाई पनि बचाऔं, कोरोनामय अर्थतन्त्र सबैमिलि जोगाऔं’, ‘उद्योगी व्यवसायी घरधनी बैैंक सबै मिलौं, सहकार्य र सहयोगको वातावरण बनाऔं’, ‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ’, ‘जबरजस्ती ब्याज असुल गर्न बन्द गर’ लेखिएका ब्यान लिएर सडकमा उभिएका थिए ।


क्लिकमान्डु