लकडाउनमा लगानीयोग्य रकम बैंकमै थुप्रियो, कर्जा प्रवाह ३६ अर्बले घट्यो



काठमाडौं । लकडाउनमा वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम उल्लेख्य रूपमा बढेको छ । तर कर्जा प्रवाह भने घट्दो छ ।

लकडाउनमा दिनहुँ बैंकहरुमा निक्षेप थपिने क्रम बढिरहेको भए पनि कर्जा प्रवाह भने क्रमिकरुपमा घटेको हो ।

सरकारले गरेको लकडाउनको ३ महिनाको अवधिमा निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ । यो अवधिका बैंकहरुको कर्जा लगानी भने ३६ अर्ब रुपैयाँले घटेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन गरेको थियो ।

चैत मसान्तसम्म वाणिज्य बैंकहरुमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । जुन असार १२ गतेसम्म १ खर्ब १३ अर्ब रुपैयाँले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

संघद्वारा उपलब्ध तथ्यांकअनुसार बैंकहरुमा निक्षेप प्रत्येक महिना अर्बौ रुपैयाँले बढिरहेको छ । चैत मसान्तसम्म बैंकहरुमा चैतको तुलनामा निक्षेप बैशाखमसान्तसम्म २५ अर्ब रुपैयाँले बढेर ३२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको थियो । जेठ मसान्तसम्ममा बैशाख मसान्तको तुलनामा निक्षेप ६२ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको थियो ।

साथै जेठ मसान्तको तुलनामा असार १२ गतेसम्म बैंकहरुमा निक्षेप २६ अर्ब रुपैयाँले बढेर ३३ खर्ब २ करोड रुपैयाँ पुगेको छ ।

चैत्र मसान्तदेखि असारको दोस्रो सातासम्मको तथ्यांक हेर्ने हो भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा १ खर्ब १३ अर्ब रुपैयाँले निक्षेप बढेको छ ।

तर बैंकहरुको कर्जा लगानी भने चैत मसान्तदेखि असारको दोस्रो सातासम्म ३६ अर्ब रुपैयाँले घटेको छ ।

चैत मसान्तसम्म बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन बैशाख महिनामात्र ९ अर्ब रुपैयाँले घटेर बैशाख मसान्तमा २८ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बैंकहरुको कर्जा लगानी जेठ महिनामा मात्र २० अर्ब रुपैयाँ घटेको छ । बैशाख मसान्तसम्म २८ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ मसान्तसम्म २८ खर्ब १६ अर्ब रुपैयाा मात्र कर्जा लगानी गर्न सकेका हुन् ।

साथै, असारको दोस्रो सातासम्म बैंकहरुको कर्जा लगानी जेठ महिनाको भन्दा ८ अर्ब रुपैयाँले घटेको छ ।

जेठ मसान्तसम्म बैंकहरुको कर्जा लगानी २८ खर्ब १६ अर्ब रुपैयाँ थियो जुन ८ अर्ब रुपैयाँले घटेर २८ खर्ब ९ अर्ब रुपैयाँमा सीमित भएको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

लकडाउन शुरु भएसँगै बैंकमा पैसा जम्मा गर्ने बढेपनि त्यसको विपरीत आर्थिक क्रियाकलाप रोकिँदा कर्जा लिनको ग्राहक भने घटेको हो ।


क्लिकमान्डु