डब्लुएचओ नेपाल कार्यालयको अपिल, कोरोनाको जोखिम हटेको छैन सतर्कता अपनाउनुहोस
काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।
लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एकआपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।
‘लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो । घर मै बस्नु पर्यो । साथी भाईलाई भेट्न पाईएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन,’ उनले भने ।
महामारी अझै बाँकी रहेको र संक्रमित हुन सक्ने सम्भावना भएकाले होसियार हुन भनिएको छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी रहेको बताउँदै एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउन भनिएको छ ।
विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले बारम्बार हात धुन, हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्ने भएकाले खोक्दा मुख छोप्न पनि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसञ्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्ने भन्दै भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय भएको उल्लेख गरिएको छ ।