सरकारको निर्देशन अटेर गर्दै निजी विद्यालयले मागे अभिभावकसँग शुल्क



काठमाडौं । निजी विद्यालयहरुले लकडाउनबीचमा नै अभिभावकहरुलाई शुल्क तिर्न बोलाएका छन् ।

सरकारले वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गर्ने निर्देशन दिएको एकसाताभित्रै उनीहरुले अभिभावकलाई २०७६ सालको बाँकी र नयाँ शैक्षिक सत्रको शुल्क बुझाउन सूचना जारी गरेका हुन् ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन–प्याब्सनद्वारा जारी संयुक्त सूचनामा भनिएको छ, ‘२०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी सूचनामा सरकारले असार १ गतेदेखि मुलुकभर अनलाइन शिक्षा तथा दुरशिक्षाका वैकल्पिक तरिकाहरु एफएम रेडियो, टिभी, केवल भर्चुअल आदिमार्फत् शैक्षिक सत्र शुरु गर्ने निर्देशन दिएको र सोको लागि आर्थिक सहयोग सरकारबाट प्राप्त नभएको उल्लेख छ ।

सोही कारण शिक्षक व्यवस्थापन र व्यवस्थापन खर्चका लागि स्रोत संकलनमा अभिभावकलाई आग्रह गरेको जनाइएको छ ।
अभिभावकलाई सामाजिक दुरी कायम गर्दै सम्बन्धित विद्यालयमा उपस्थित भएर बाँकी रहेको शुल्क र नयाँ शैक्षिक सत्रको शुल्क भुक्तानी गर्ने सूचनामा भनिएको छ ।

लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब २ लाख शिक्षक–कर्मचारीको जीवनयापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेको उनीहरुको गुनासो छ ।


क्लिकमान्डु