कोरोना संक्रमित गुल्मीका एकजनाको मृत्यु, कुल संख्या २३ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका गुल्मीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोटा गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षे पुरुषको मृत्यु भएको हो । उनी प्यारालाइसिसको उपचारका लागि भारत गएका थिए । उनी जेठ २५ गते नेपाल आएकोमा होम क्वारेन्टिनमा रहेकै समयमा मृत्यु भएको थियो । उनको गत असार ५ गते मृत्यु भएको थियो । त्यसपछि नमूना संकलन गरी प्रदेश प्रयोगशाला भैहरवामा परीक्षण गर्दा असार ६ गते कोरोना पुष्टि भएको थियो ।

मृतकको शव नेपाली सेनाको सहयोगमा असार ६ गते नै दाहसंस्कार गरिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा काेरोना संक्रमित हुनेहरूमध्ये ९५ प्रतिशत विदेशबाट आएकामा देखिएको छ । जसमध्ये भारतबाट आउनेहरूकाे संख्या सबैभन्दा बढी छ । उनीहरूमध्ये ९२ प्रतिशत पुरूष छन् । धेरै जसाे श्रमका लागि विदेश गएकाे र फर्कँदा संक्रमित भएका हुन् । भने ९८ प्रतिशतमा लक्षण देखिएको छैन ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा समूदायमा कोरोना फैलिएको छैन । मृत्यु हुनेमा अन्य रोगबाट पहिलेदेखि नै पीडित थिए ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४२१ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । आइतबारसम्म कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता जागेश्व गौतमका अनुसार गत २४ घण्टामा १९४ जना उपचारपछि निको भएका छन् भने हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ छ ।

त्यसैगरी हालसम्म क्वारेन्टिनमा ९४ हजार ९२८ जना छन् भने आइसोलेसनमा ७ हजार २३१ जना छन् । त्यसैगरी हालसम्म १ लाख ७५ हजार १७३ वटा पीसीआर परीक्षण गरिएको छ भने आरडीटी परीक्षण २ लाख ६२ हजार १७४ वछा भएका छन् ।


क्लिकमान्डु