भूमिबिहीनले आगामी वर्षमा भूमि पाउँछन्ः मन्त्री पद्मा अर्याल



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमिबिहीनलाई आगामी आवबाट भूमि वितरण गर्न थाल्ने बताएकी छिन् ।

राष्ट्रियसभाको बैठकमा मन्त्री अर्यालले विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएकी हुन्

सुकुम्बासी, दलित, सिमान्तकृत समूदायलाई आगामी आवबाट नै पुर्जा वितरण गर्ने दाबी गरिन । यो काम स्थानीय तहबाट नै गर्ने उनको भनाइ छ ।

जमिनको अधिकतम उपभोग गर्ने, जग्गाको चक्लाबन्दी गर्ने, सहकारीको माध्यमबाट प्रोत्साहन गर्ने गरी यो कार्यक्रम ल्याएको उनको भनाइ छ । यसको लागि प्रदेश र स्थानीय तहबाट भूउपयोग परियोजना तर्जुमा गर्ने र संघबाट ५३१ स्थानीय तहको भू उपयोग नक्सा बनाएर हस्तान्तण गरेको र बाँकी नक्सा आगामी आवमा वितरण गर्ने बताइन ।

जग्गाको उपयोग गरेर रोजगारी सिर्जना गर्ने भूमि बैंक कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहको स्वामित्व हुने जानकारी गराइन ।

यो कार्यान्वयन गर्ने गरी भू उपयोग ऐनमा नै व्यवस्था गरेको उनको भनाइ छ । यसको कार्यविधि पनि निर्माण भइरहेको उनको तर्क छ ।

यो बैंकमा तीन वटै तहको सेयर हुनेछ । जसमा संघको ५०, प्रदेशको ३० र स्थानीय तहको २० प्रतिशत सेयर रहेको उनको भनाइ छ । यसको कार्यान्वयन स्थानीय तहले गर्नेछन् । चालु आवमा ३०० वटा पालिकाबाट काम हुने मन्त्री अर्यालको तर्क छ ।

बैठकमा आगामी दिनमा नाप नक्साको काम फिर्ताबाट नभइ यन्त्रबाट गर्ने जानकारी गराइन । डिजिटल प्रणालीमा नापजाँचको कार्य भइरहेको उनको दाबी छ । यसको सुरुवात सुदुरपश्चिमबाट शुरु भएको मन्त्रीले जानकारी गराइन ।

त्यसैगरी अहिले गरिबको पहिचान नभइसकेको र अव गरिबहरुको तथ्यांक अध्यावधिक गर्ने पनि बताइन् । उनले सोही अनुसार सेवा सुविधा पनि उपलब्ध गराउने बताइन् ।


क्लिकमान्डु