भिसा शुल्कमा अन्योल: विलम्ब र जरिवाना लिँदा महंगो भएपछि फेरि नयाँ निर्णय गर्दै सरकार



काठमाडौं । लकडाउनका कारण नेपालमै रहन बाध्य भएका विदेशी नागरिक र पर्यटकको हकमा कति शुल्क लिने भन्ने अन्योल भएको छ ।

अध्यागमन विभागले यसअघि लकडाउन अवधिभरको भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना मिनाह गर्ने भने पनि गत जेठ ३२ गते भने सम्पूर्ण शुल्क लिने निर्णय गरेको थियो ।यसअघि लकडाउन अवधिभर र त्यसको ७ दिनसम्म कुनै पनि शुल्न नलिने निर्णय गरेको थियो ।

पहिले एउटा निर्णय गर्ने र फेरि अर्को निर्णय गर्दा धेरै तिर्नुपर्ने रकम बढी हुँदा विरोध भएपछि सरकारले फेरि अर्को निर्णय गर्ने भएको छ ।

‘पहिले जरिवाना र विलम्ब शुल्क पनि नलाग्ने भन्ने भयो, त्यसपछि फेरि सबै लाग्ने भनेपछि अहिले अन्योल भएको छ, सम्भवतः आज वा भोलिमा नयाँ निर्णय आउँछ,’ अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले भने ।

विभागका अनुसार आइतबार साढे ३ सय जना र सोमबार ४ सय जनाले लकडाउन अवधिभरको भिसा शुल्क, बिलम्ब शुल्क र जरिवाना बुझाएर भिसा लिइसकेका छन् ।

‘लकडाउन अझै लम्बिने हो कि भन्ने डरमा भिसा नविकरण गर्नेको संख्या बढेको छ, उहाँहरुले लकडाउन अवधिको पूरै शुल्क बुझाउनु भएको छ,’ उनले भने ।

विभागका अनुसार भिसा नविकरणका लागि प्रत्येक दिनको ३ डलर लाग्छ भने विलम्ब शुल्क त्यसमा ५ डलर थप हुन्छ । त्यसैगरी जरिवाना शुल्क ५० हजार रुपैयाँसम्म लाग्छ ।

जसमध्ये चिनियाँ नागरिकको हकमा १५० दिनसम्म भिसा शुल्क नलाग्ने भएकाले उनीहरुले भने बुझाउनु परेको छैन । तर अन्य देशका नागरिकको हकमा लडाउन अगावै भिसा सकिएकाको हकमा ८० दिन बराबरको दैनिक ३ डलरका दरले २४० डलरसम्म बुझाएर भिसा नविकरण गरेका छन् ।

विभागका अनुसार लकडाउनको अवधिमा विभिन्न देशका नागरिकहरु उद्दारमार्फत १२ हजारको संख्यामा आफ्नो देश गइसकेका छन् भने अझै त्यत्ति नै संख्यामा नेपालमा विदेशी नागरिक रहेको केसीको भनाइ छ ।

सरकारले अन्तर्राष्ट्रिय उडान असार २१ गतेसम्मका लागि रोक लगाइसकेको छ । तर विभिन्न दूतावास र सरकारमार्फत भने उद्दारका लागि उडान भने भइरहेका छन् ।

विभागले अहिले नयाँ भिसा, नविकरण र भिसा थपको काम गरिरहेको छ ।


क्लिकमान्डु