जितेन्द्र नारायणको प्रश्नः पूर्वमन्त्री रवीन्द्र अधिकारी माफियाको शिकार भए, मन्त्रालयले जालो किन नतोडेको ?



काठमाडौं । सांसद जितेन्द्र नारायण देवले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्मचारी बैठक भत्ता २१ लाख रुपैयाँ छुट्याएको भन्दै विरोध गरेका छन् ।

चालु आवमा त्यो बजेट नभए पनि आगामी आवमा यो बजेट छुट्याउन अनावश्यक भएको उनको भनाइ छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वले कर्मचारीको तलब भत्ता दिन सक्ने अवस्था छैन भनेको बेलामा आगामी आवमा मन्त्रालयको यो बजेट राख्न नहुने बताए ।

प्रति महिना ४० अर्ब खर्ब हुने गरेकोमा अहिले १५ अर्ब राजस्व र अन्य माध्यमबाट ५ अर्ब सहित २० अर्बले काम चलाउनु परेको बताए ।

यस्तो अवस्थामा चालु आवमा बजेट नराख्नु र आगामी आवमा उक्त शीर्षकमा बजेट राख्नु गलत भएको बताए । केही गरौं भन्ने उर्जावान मन्त्रीले यस्तो शीर्षकमा बजेट राख्नु भनेको गलत मनसाय भएको दाबी गरे ।

सांसद देवले चालु आवमा ५ अर्ब ९९ करोड बजेट रहेकोमा आगामी आवको लागि अर्थ जस्तो ज्याद्रो मन्त्रालयसँग लडेर २६ अर्ब रुपैयाँ विनियोजन गर्न सक्नु चूनौतीपूर्ण काम भएको बताए ।

उनले यस्तो चुनौतीको बाबजुद ल्याएको बजेट कार्यान्वयनमा बढी ध्यान दिन आग्रह गरे ।

उनले मन्त्रीलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर आयोजना भएकाले भट्टराई मन्त्रालयमा भएसम्म कुनै पनि भूत प्रेत नलागोस भनेर कामना समेत गरेका छन् ।

पर्यटन मन्त्रालयमा रहेको संस्कृति महाशाखामा निकै नै ब्रम्हलुट हुने गरेको दाबी गरे । विभिन्न व्यक्तिको नाममा खडा गरेको पुरस्कार कोष, विभिन्न विकास समिति र विभिन्न नेताको नाममा खडा गरेको प्रतिष्ठानको नाममा ब्रम्हलुट हुने गरेको दाबी गरे ।

पार्टी नेता र कार्यकर्ताको भर्तिकेन्द्र जस्तै भएको भन्दै देशको सम्पत्तिलाई लुटाउने काम भएको बताए । अहिले पनि यसको लागि करोडौं बजेट आगामी आवको लागि पनि बजेट विनियोजन भएको भन्दै यो रोक्न आग्रह गरे ।

यस्ता शीर्षकमा स्थानीय, प्रदेश सरकारले बजेट पाउने गरेको भन्दै सांसद देवले अहिले पनि केन्द्रले किन यस्तो शीर्षकमा बजेट राखेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिष्ठानको नाममा सरकारको पैसा लिएर करोडौ रुपैयाँ लुटाउने काम भएको दाबी गरे ।

‘पार्टीको विदेश विभाग र संगठन विभागलाई पैसा जाने गरेको छ’ उनले भने ‘सरकारको पैसाले पार्टीका कामको लागि भवन बनिरहेको छ । पार्टीको शाखा कार्यालय खोलिरहेको छ ।’

उनले हवाई र पर्यटन माफियाको जालो मन्त्रालयमा रहेको भन्दै त्यो जालो तोड्न पनि आग्रह गरे । पूर्वमन्त्री रविन्द्र अधिकारी त्यसैको शिकार भएको दाबी गरे । त्यो दिन मन्त्री अधिकारी ताप्लेजुङ जाने कुनै पनि कार्यक्रम नभएको समेत दाबी गरे । कार्यक्रम नहुँदा पनि कुन माफियाले लगेको हो त्यो विषय गुपचुप नराख्न आग्रह गरेका छन् ।


क्लिकमान्डु