वित्तीय क्षेत्रका कर्मचारीले दिए कोरोना पीडितलाई राहत



काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीहरुले वृद्धाहरुलाई राहत वितरण गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्रिय समितिको सहकार्यमा जनकपुरस्थित जानकी वृद्धाश्रम र अन्य आवश्यक व्यक्तिलाई खाद्यसामग्री वितरण गरेका हुन् ।

त्यस्तै, संघले तनहुँस्थित निर्माण सम्बद्ध श्रमिक, यातायात सम्बद्ध श्रमिक तथा नाई सम्बद्ध श्रमिक गरी २३ घर परिवाहरुलाई खाद्यसामग्रीहरु वितरण गरेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले विगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा छ । जसमा कोभिड-१९ द्वारा सिर्जित लकडाउनका कारण मारमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरु तथा वृद्धाश्रमलाई संघको प्रदेश समितिमार्फत सहयोग कार्यक्रम सञ्चालन गरी सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

राहत वितरण कार्यक्रममा जनकपुर उपमहानगरपालिका नेपाली काँग्रेसका नगर सभापति मनोज साह प्रमुख अतिथि, जनकपुर उपमहानगरपालिका अन्तर्गतका वडा नं. १४ का वडा अध्यक्ष परमेश्वर साह, जानकी वृधाश्रमका प्रतिनिधि सुरेश कोइराला, वित्तीय संघ प्रदेश नं. २ समितिका अध्यक्ष हृदयकान्त झालगायत अन्य युनियनकर्मीहरुको समेत सहभागिता रहेको थियो ।


क्लिकमान्डु