कोरोना संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकियो, साढे १७ हजार बढी संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेको छैन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १८ पुगेको छ । हाल सम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाहरुका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

संघले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६-६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्दार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी समय ५ सय ११ जनाको उद्दार गरिएको छ ।


क्लिकमान्डु