अनलाइन कारोबार समस्या र तत्कालिन समाधान



नेपाली पूँजीबजारलाई विश्वस्तरीय, स्वचालित र लगानीकर्ताहरुले ब्रोकरकहाँ नपुगी सहजै वेवसाइटका माध्यमबाट धितोपत्र कारोबार सुविधाका लागि २०७५ पुस १७ गतेबाट व्यवहारिक प्रयोगमा ल्याइएको अनलाइन कारोवार प्रणालीको व्यवहारिक समस्याका कारण समेत लकडाउनको समयमा बजार बन्द गर्नुपरेको भनाइहरुले विद्यमान प्रणाली विवादमा तानिएको छ ।

यसमा बजार संचालक नेप्से, कारोबार व्यवस्थापन गर्ने ब्रोकर, नियामक धितोपत्र बोर्ड र लगानीकर्ताहरुको बुझाइ र तर्क फरकफरक रहँदै आएको छ ।

नेप्से विद्यमान प्रणाली नै पूर्ण र विश्वस्तरिय भन्दै ब्रोकर र लगानीकर्ताले चाहेको अवस्थामा भौतिक उपस्थिति बिना नै कारोबार गर्न र रकम तथा सेयर राफसाफ सम्भव भएको तर्क गरिरहेछ ।

ब्रोकर ब्याक अफिस  तथा लगानीकर्ताहरु बैंक इन्टिग्रेसन नभएको भन्दै नेप्सेको भनाइसँग विमती राख्दै आएका छन् । मुख्य सरोकारवालाहरु एकले अर्कोको फरक आवश्यकता र अवस्था बुझेर उपलब्ध प्रविधिगत सुविधा र समाधानका उपाय खोज्नेभन्दा आफ्नो कमजोरी लुकाउने अनि यथास्थितिको अप्रत्यक्ष लाभका लिन पनि एकआपसमा दोषारोपण गर्दै जिम्मेवारीबाट पन्छिने (ब्लेम गेम) खेलिरहेका छन् ।

यथार्थमा संचालनमा रहेको प्रणाली पूर्णरुपमा तयार भई आधिकारिक रुपमा हस्तान्तरण समेत नभएको अवस्थामा विश्वस्तरीय र पूर्ण भन्ने अवस्था रहन्न । अनि यसमा ब्रोकर ब्याक अफिस र बैंकिङ प्रणालीको इन्टिग्रेसन पनि भएको छैन । तर ब्रोकर र लगानीकर्ताहरुले भनेजस्तो कारोवार असम्भव होइन् ।

थोरै लागत तिर्ने र सकारात्मक प्रयास गर्ने हो भने विश्वस्तरीय नभए पनि ब्रोकर अफिसमा नगई विद्युतीय माध्यमबाटै कारोवार भने गर्न सकिन्छ ।

विद्यमान कारोवार प्रणालीका अवयव

हाल संचालनमा रहेको अनलाइन कारोवार प्रणालीको मुख्य हिस्साको रुपमा नेप्से अनलाइन कारोवार प्रणाली (नट्स) र कारोवार व्यवस्थापन प्रणाली (टिएमएस्) रहेका छन् ।

यसका साथै ब्रोकरले दैनिक कारोवारको हिसावकिताव र लेखाका लागि ब्रोकर ब्याक अफिस प्रयोग हुँदै आएको छ ।

धितोपत्र कारोवारका लागि लगानीकर्ताहरुले एक्सेस गर्ने टिएमएस् प्रणाली ब्रोकरको निगरानी र संचालनमा रहन्छ । जसले लगानीकर्ताहरुबाट धितोपत्र खरिदबिक्री आदेश लिएर नटस्सम्म पुर्याउने काम गर्छ ।

नेप्सेले कारोवार व्यवस्थापन र नियन्त्रणको लागि संचालन गर्ने नट्स प्रणालीले अन्य उपप्रणालीहरुको सहयोगमा क्रेता र बिक्रेताले किनबेच गर्ने धितोपत्र, संख्या र मूल्यलाई म्याचिङ गर्दै कारोवार सम्पन्न गर्छ ।

यसपछि बल्ल राफसाफको काम शुरु हुन्छ । राफसाफमा सेयरका लागि सिडिएससी, भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक, कारोवारको वास्तविक हिसावकितावका लागि ब्रोकरले प्रयोग गर्ने ब्रोकर ब्याक अफिस जोडिन आइपुग्छन् ।

अनलाइनको शुरुवाति वा तयारी चरणमा नै नेप्सेले नट्स र ब्रोकरहरुले टिएमएस् बनाउने, ब्रोकरहरुले डाटा सेन्टर र सूचना प्रविधि विज्ञ समेत राख्नुपर्ने चर्चा भएको थियो ।

तर ब्रोकरहरुले नयाँ टिएमएस् बनाएको त सुनिएन तर नट्स प्रणाली बनाएको कम्पनी वाइकोले नै सबै ब्रोकरको लागि टिएमएस् बनाएर डाटा सेन्टरको सेवा समेत उपलब्ध गराएको र हाल सोही टिएमएसमार्फत अनलाइन कारोवार भइरहेको छ ।

लेखक, दिलिपकुमार मुनकर्मी

संचालित टिएमएस्मा कारोवारसँगै रकम भुक्तानी व्यवस्थापनका लागि बैंकहरु र कनेक्ट आइपिएस सुविधा तथा बिक्री भएको सेयर हस्तान्तरणका लागि सिडिएससीको डिम्याट खाता पनि जोडिएको छ ।

तर ब्रोकरले ग्राहकको कारोवार हिसावकिताव लेखा राख्ने र व्यवथापन गर्ने ब्रोकर ब्याक अफिस नजोडिएको हुँदा स्वचालित हिसावकिताव र राफसाफ हुने अवस्था छैन ।

सरसर्ती हेर्दा खारिदबिक्री आदेशदेखि रकम र शेयर हस्तान्तरणमा प्रविधिगत ठूलो समस्या देखिँदैन् तर टिएमएस् व्यवस्थापन गर्ने ब्रोकर, अनलाइन चलाउने लगानीकर्ता र भुक्तानीमा जोडिने बैंक वा कनेक्ट आइपिएससम्बन्धी स्वार्थपूर्ण बुझाइ र केही लागत अनि प्रविधिगत ज्ञानका कमीले समस्याको जटिलता बढेको छ ।

उपलब्ध प्रविधिगत सेवा र सुविधा

धितोपत्र कारोवारमा प्रत्यक्ष संलग्न हुने ब्रोकर र लगानीकर्ताले चाहने हो भने क) विश्वस्तरिय, ख) अहिले भनिएजस्तो बैंक इन्टिग्रेसन भएको, ग) रियलटाइम बैंक र डिम्याट डेबिट वा क्रेडिट नभएपनि विद्यमान प्रणालीमा केही असहजताका बीच ब्रोकर अफिस नपुगिकनै खरिदबिक्रीदेखि राफसाफ गर्न निम्न प्रविधिगत सुविधाहरु उपलब्ध छन् ।

१.  विद्युतीय माध्यमबाट खरिदबिक्री आदेश दिन र कारोवार गर्न अनलाइन कारोवार प्रणाली ।

२.  सेयर हस्तान्तरण गर्न सिडिएससीको राफसाफ, डिम्याट र मेरो सेयरको सेवा ।

३.  खरिद गरेको रकम ब्रोकरलाई पठाउन अनलाइन बैंकिङ वा कनेक्ट आइपिएसको सुविधाका साथै स–सानो भुक्तानी क्युआरकोड वा भुक्तानी सेवा प्रदायमार्फत रकम भुक्तानी गर्न सकिन्छ । यस्तै बिक्री गरेको रकम पनि ब्रोकरहरुले थोरै मेहेनत गरेको अवस्थामा अनलाइन बैंकिङ वा कनेक्ट आईपिएसमार्फत भुक्तानी गर्न सक्छन् । अझ ब्रोकर र लगानीकर्ताको एउटै बैंकमा खाता भएको अवस्थामा अनलाइन कारोवार प्रणालीभित्रैबाट अनलाइन बैंक हुँदै बिना थप शुल्क भुक्तानी समेत गर्न सकिन्छ । हालै नेपाल राष्ट्र बैंकले धितोपत्र खरिदबिक्रीमा हुने भुक्तानीमा अधिकतम रकम हस्तान्तरणको सीमा समेट हटाइसकिएको छ ।

ब्रोकर ब्याक अफिस नजोडिएको अवस्थामा ग्राहकको कारोवार सम्बन्धी हिसावकिताव भने छुटै गर्नुपर्ने अवस्था छ ।

भौतिक उपस्थिति बिना कारोवार र राफसाफ

लगानीकर्ताहरुले चाहेजसरी रियल टाइम डिम्याट खातामा उपलब्ध धितोपत्र र बैंक खातामा उपलब्ध रकम को परिक्षण (भेरिफिकेसन) गर्दै अनलाइन खरिदबिक्री भएसँगै शेयर र रकम राफसाफ विद्यमान प्रणाली मात्र होइन, सायद उत्कृष्ठ प्रविधि र सफ्टवेयरको प्रयोग हुँदा समेत व्यवहारिक र कानुनीकारण सम्भव नहोला ।

तर उपलब्ध प्रविधिगत सेवाहरुको समुचित प्रयोग गर्ने हो भने केही असहजता र शुल्कका बावजुद तेस्रो पक्षको सेवा बिना नै शेयर र रकमको राफसाफ भने सम्भव छ ।

यसका लागि ब्रोकर र लगानीकर्ताहरुसँगै नेप्से र बोर्डले केही सहजीकरण भने गर्नुपर्नेछ ।

१.  सबैभन्दा पहिले ब्रोकरहरुले आफ्ना ग्राहकलाई आफूले कारोवार गर्ने बैकमा नै खाता खोल्न लगाउने । लगानीकर्ताहरुले पनि धितोपत्र कारोवार प्रयोजनका लागि ब्रोकरको खाता भएको विद्यमान चारवटा (ग्लोवलआईएमई, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ वा प्रभु) क्लियरिङ बैंकमा खाता खोल्ने ।

२.  ब्रोकरहरुले कम्तिमा क्लियरिङ बैंकसँग कुरा गरेर धितोपत्र कारोवारको भुक्तानी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको तोकिएको रकमको सीमा (हाल १० लाख रुपैयाँ) लागू नहुने व्यवस्था तत्काल गर्न लगाउने । अनौपचारिक सूचना अनुसार सानिमा र ग्लोवलआईएमई बैंकले यस्तो सुविधा व्यवस्था गरिसकेको छ ।

३.  विद्यमान अनलाइन कारोवारका लागि धरौटी राख्नैपर्ने र लिमिटको प्रावधानलाई थाँति राख्दै ब्रोकरको तजबीजमा अनलाइन प्रणालीमा पहुँच, लिमिट र कारोवारको व्यवस्था गर्ने ।

४.  अनलाइन प्रणालीमा नै खरिदबिक्रीको खुद भुक्तानी (नेट सेटलमेन्ट)को व्यवस्था गर्ने, जसले भुक्तानी रकम व्यवस्थापन सहज हुनेछ ।

५.  अनलाइन प्रणालीको युजरनेम र पासवर्डका लागि लगानीकर्ता स्वयम् उपस्थित हुनुपर्ने प्रावधान खुकुलो बनाई अनलाइन, वा अन्य व्यक्ति मार्फत फारम पठाउने र टेलिफोन वा इमेल वा पत्र मार्फत ब्रोकरले लगानीकर्ताको भेरिफिकेसन गर्नसक्ने व्यवस्था गर्ने ।

६.  ब्रोकरले ब्रोकर ब्याक अफिस इन्टिग्रेसन नहुँदासम्म अनलाइन प्रणालीमा उपलब्ध भुक्तानी सुविधा वा अनलाइन बैंकिङ च्यानलबाटै ग्राहकको खातामा भुक्तानी गर्ने ।

७.  यसरी गरिने अनलाइन गरिएको भुक्तानीको प्रमाणका लागि ब्रोकरले लगानीकर्तालाई इमेलबाट जानकारी दिने ।

८.  धेरै लगानीकर्ता भएर पनि अनलाइनको व्यवहारिक समस्याले यसतर्फ आकर्षित नभएको पक्षलाई ध्यानदिई लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न अनलाइन प्रणालीबाट हुने कारोवार कमिसनमा निश्चित प्रतिशत छुट, अनलाइन भुक्तानीमा सेवा शुल्क नलाग्ने व्यवस्था गर्ने ।

प्रविधिगत सुविधाको उपयोगका व्यवधानहरु

१.  नयाँ पुस्ता र ठूला सहरका लगानीकर्ताहरु बाहेक आमलगानीकर्ताहरुको प्रविधिगत ज्ञान, कम्प्युटर, उच्चगतिको इन्टरनेट, बैंकजस्ता पूर्वाधारमा कमजोर पहुँच, प्रविधिगत सेवाहरुले सिर्जना गर्ने थप लागतले अनलाइन प्रणाली र प्रविधिगत सेवा उपयोगमा बाधा पुर्याइरहेको छ । त्यसैले आमलगानीकर्ताहरुलाई जानकारी, पर्याप्त ज्ञान, सीप र पहुँच सहित प्रविधिगत सेवाहरु निःशुल्क वा सर्वसुलभ हुन्न, तबसम्म विद्यमान त पूर्ण वा स्वचालित अनलाइन नै आएता पनि अनलाइन लगानीकर्ताको प्राथमिकतामा पर्ने छैन ।

२.  आमलगानीकर्ताहरुको सामुहिक छलफल र ब्रोकरसँगको सरसल्लाहमा लगानी निर्णय र कारोवारको व्यवहार र सहजताले लगानीकर्ताहरुलाई अनलाईन कारोवारभन्दा ब्रोकरको सम्पर्कमा रहेर वा कार्यालयमा गएर कारोवार गर्न प्रोत्साहित गरिरहेको छ । ब्रोकर वा साथीभाइसँग सरसल्लाह गर्दै वा टेलिफान, एसएमएस वा इमेलबाट खरिदबिक्री आदेश अनि बिना धरौटी कारोवार गरिरहेका लगानीकर्ताहरुलाई अनलाईन र २५ प्रतिशत धरौटीसँगै लिमिट व्यवस्थापनको विद्यमान तरिका निकै असहज भइरहेको छ ।

३.  हाल उपलब्ध र सम्भाव्य प्रविधिगत सेवाका बारेमा ब्रोकर र लगानीकर्ताहरुले खोजिनीति र बुझ्ने बुझाउने प्रयास पनि भएको छैन् । सबैजना ‘यो र त्यो छैन’ अनि ‘यस्तो र त्यस्तो हुनुपर्ने’मा नै दौडिएका छन् । एक हिसावले कान छाम्नेभन्दा कौवाको पछि लाग्ने काम पनि भएको छ ।

४.  अनलाइन प्रणालीका लागि लगानीकर्ता एकपटक नै भएपनि ब्रोकर कार्यालय सशरीर उपस्थिति भएर थप वा पूरक सम्झौता गर्दै आवश्यक लिमिटको २५ प्रतिशत रकम धरौटी राख्नुपर्ने कानूनी र व्यवहारिक झन्झटले प्रविधिगतभन्दा व्यवहारिक अबरोधका रुपमा काम गरिरहेको छ । यसलाई सहज र लगानीकर्तामैत्री नबनाउने हो भने अनलाईन नेपालमा केही व्यक्ति र सिद्धान्तमा नै सीमित हुनेछ ।

भविष्यका लागि

तत्कालिन समस्या समाधान गर्दै लगानीकर्ताहरुलाई अनलाइन कारोवारमा बानी पार्दै कानूनी र व्यवहारिक अवरोधहरु पनि चिर्दै सुधारिएको वा पूर्ण र स्वचालित प्रणालीमा जान सकिन्छ । त्यसका लागि नट्स, टिएमएस्, ब्रोकर ब्याक अफिससमेतमा परिमार्जन र इन्टिग्रेसन गरिनुपर्छ ।

उक्त प्रणाली लगानीकर्ता र ब्रोकर मैत्री, सहज, सुरक्षित, विश्वासिलो हुनुका साथै कम लागत लाग्ने हुनैपर्छ । यसका लागि सरोकारवाला, प्राविधिक र कानुनविद्समेत बसेर आवश्यकता र अवस्था बुझ्दै समस्या समाधानका लागि सहजीकरण र सहकार्य गरिनुपर्छ ।

१.  अनलाइनमा धरौटी हटाएर क्लियरिङ बैंकमा लगानीकर्ताले पुल खाता खोली त्यसमा प्रत्येक कारोवार दिनको विहान वा खरिद गर्नुभन्दा पहिले सो खातामा पैसा राख्ने र कारोवार सम्पन्न गरेपछि भुक्तानीको व्यवस्था मिलाउने । विकल्पमा ब्रोकरले धितोपत्र बिक्रीको रकम राख्न र खरिदको रकम झिक्न सक्ने सुविधा सहितको लगानीकर्ता र ब्रोकरबाट संचालन हुनसक्ने बैंक खाताको व्यवस्था गर्ने । हाल कमोडिटीमा यस्तो प्रावधान रहेको सुनिन्छ ।

२.  ब्रोकर ब्याक अफिसमा आवश्यक परिमार्जन सहित टिएमएस्सँग लिंक गर्ने जसले धितोपत्र कारोवारको रकम स्वचालित गणना गर्दै बैंक वा भुक्तानी व्यवस्थापकलाई लगानीकर्ताका खातामा रकम पठाउन वा खाताबाट रकम तान्न निर्देशन दिन सकोस् ।

३.  ब्रोकरहरुले वाइकोले बनाएको विद्यमान टिएमएस् चलाउने वा ब्रोकर ब्याक अफिस सहितको नयाँ सुविधायुक्त टिएमएस् प्रयोगमा ल्याउने । यसका लागि ब्रोकरहरुले एकल वा संयुक्त रुपमा सफ्टवेयर निर्माण गर्ने र डाटा सेन्टर समेत संचालनमा ल्याउने ।

४.  सबै बैंकलाई रकम भुक्तानी प्रयोजनका लागि टिएमएस्मा इन्टिग्रेट गर्ने र यो व्यवहारिक रुपमा सम्भव नदेखिएमा क्लियरिङ बैंकमार्फत भुक्तानी व्यवस्थापनका लागि प्रयास गर्ने ।

५.  लगानीकर्ताहरुको प्रविधि र अनलाइनको ज्ञान र पहुँच विस्तारका लागि सचेतना कक्षा संचालन, प्रविधिगत सेवाको विश्वसनियता बढाउने र लागत घटाउनेतर्फ कार्य गर्ने ।


क्लिकमान्डु