मन्त्रिपरिषदको निर्णयः पसल खोल्न पाइने, निजी सवारी साधन जोर-बिजोरका आधारमा चल्ने



काठमाडौं । सरकारले जेठ २९ गतेदेखि लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो ।

जसअनुसार पसल खोल्न दिइनेछ भने निजी सवारी साधन जोर र बिजोर नम्बरका आधारमा चल्न दिइनेछ । त्यस्तै सार्वजनिक सवारी साधन भने अहिले चल्न पाउने छैनन् ।

भोलिदेखि नै निजी सवारी साधन मोटरबाइक, कार तथा ट्याक्सीहरु चल्नेछन्, भने पसल पनि खोल्न पाइनेछ । त्यस्तै लामो रुटमा भने अहिले सवारी साधन चल्न पाउने छैनन् ।

त्यस्तै, मोटरबाइकमा एकजना मात्रै चढ्ने र निजी कारमा चालकबाहेक २ जना सवारी हुन पाइने निर्णय गरेको छ । भने रेष्टुराँमा होम डेलिवरीका लागि सेवा दिन पाइनेछ भने असार १ गतेदेखि सबै सरकारी कार्यालय पूर्णरुपमा खोलिनेछ ।

मंगलबारदेखि नै व्यवसायीहरुले काठमाडौंमा पसल खोल्न र व्यवसाय गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेका थिए । जसमा सरकारले दमन गरेको थियो ।

लकडाउन लामो समयसम्म भएको र आर्थिक गतिविधि ठप्प हुँदा व्यवासायीहरु आक्रोशित भएका थिए ।

त्यसैगरी बैठकले यसवर्ष एसईईको परीक्षा पनि नगर्ने निर्णय गरेको छ भने विद्यालयको आन्तरिक मूल्यांकनलाई नै आधार मान्ने निर्णय गरेको छ ।

यसअघि बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बताएका थिए ।


क्लिकमान्डु