यसवर्ष एसईई परीक्षा नगर्ने मन्त्रिपरिषदको निर्णय, विद्यालयको मूल्यांकनलाई आधार मान्ने



फाइल फोटो

काठमाडौं । सरकारले यसवर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीको शैक्षिक खेर जान नदिन एसईई परीक्षा नगर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्रालयले कोरोनाका कारण मुलुकमा भएको लकडाउन र लामो समयसम्म परीक्षा हुन नसक्दा शैक्षिक सत्रमा असर पर्ने भएकाले परीक्षा नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

बैठकले कक्षा १० र ११ को परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्ने सिफारिस गरेको छ ।

चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा चैत ५ गते साँझ स्थगित गरिएको थियो । अब विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणिकताका लागि राष्ट्रिय परीक्षा बोर्डमा पेश गरिनेछ ।

लकडाउनका कारण बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परीक्षा हुन सकेको छैन ।

यसअघि शिक्षामन्त्री गिरिराजमणी पोखरेलले लकडाउन र लकडाउनको मोडालिटी टुंगो लागेपछि आफूले निर्णय लिने प्रतिनिधिसभाको बैठकमा बताएका थिए ।


क्लिकमान्डु