चुनाव लड्न नपर्ने अर्थमन्त्रीका कारण पार्टी र सरकार संकटमा पर्योः सांसद नविना लामा
काठमाडौं । नेकपा सांसद नविना लामाले सरकारी विद्यालय व्यवस्थापनको जिम्मेवारी माध्यामिक स्तरका निजी विद्यालयलाई दिने विषयमा कडा आपत्ति जनाएकी छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद लामाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई दिने भन्ने विषयमा अर्थमन्त्री र शिक्षामन्त्रीले आत्मआलोचनासहित माफी माग्नुपर्ने माग मरिन् ।
नेपालको संविधानले समाजवादमा आधारित राज्य निर्माण गर्ने भनिरहँदा बजेटले यो विषयमा च्युत भएको बताइन् ।
‘संविधानले शिक्षालाई मौलिक हकका रुपमा राखेको छ, माध्यमिक शिक्षालाई निशुल्क भनेको छ, निजीलाई व्यवस्थित र सेवामुलक बनाउने भनेको छ, तर बजेटमा सामूदायिक विद्यालयको जिम्मेवारी निजीलाई दिने भनेको छ, यसमा म घोर आपत्ति जनाउँछु, यसले नेकपाको समाजवाद, विचारधार विपरीत छ, त्यसैले अर्थमन्त्री र शिक्षामन्त्रीले आत्मआलोचनासहित माफी माग्नुपर्छ, म माग गर्न चाहन्छु,’ उनले भनिन् ।
उनले के नेकपाको शिक्षा नीति यही हो भन्दै प्रश्न समेत गरेकी छन् ।
‘नेकपाको सरकार र नेकपाको समाजवाद चोभारमा बगाएर सुन्दरीजलमा खोज्दैछ भन्ने देखाउँछ, त्यति मात्रै होइन, मूला रोपेर आलु फलाउन खोजिएको छ,’ उनले भनिन् ।
अर्थमन्त्रीज्यू चुनावमा लड्दिन भनेर होला सरकार र पार्टीको विचारधारलाई संकटमा पार्ने काम गर्नुभयो । शिक्षामन्त्रीज्यूको अभिव्यक्ति पनि गैरजिम्मेवारीपूर्ण छ । यसमा उहाँले पनि संसदमा स्पष्ट पार्नुपर्छ ।
उनले एसईई परीक्षाका विषयमा पनि कुनै सम्बोधन नगरिएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले विद्यालयमा कम्प्युटर उपलब्ध गराउने विषयमा पनि केही नसमेटेको बताइन् ।