आर्थिक क्रियाकलाप चरणबद्धरूपमा खुकुलो बनाउँदै जाने उच्चस्तरीय समितिको निर्णय
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिको बैठकले आर्थिक क्रियाकलापलाई अझ खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । शनिबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले क्रमशः आर्थिक क्रियाकलाप खुलुको बनाउने निर्णय भएको जानकारी दिए ।
उनले बन्दाबन्दीको अवस्थालाई अझ सहज बनाउँदै लैजाने, आर्थिक क्रियाकलापहरु, औद्योगिक तथा निर्माणजन्य कलकारखाना तथा व्यवसाय सञ्चालन गर्ने र आधारभूत आवश्यकता पूरा गर्दै विकास निर्माणको काम गर्दै जाने विषयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सुरक्षा व्यवस्था मापदण्ड पालना गरी सेवा सञ्चालन गर्न दिइने जानकारी दिए ।
‘पहिलो चरणमा भएको र चरणबद्ध रुपमा बन्दाबन्दीको अवस्था खुलाउँदै जाने विषयमा छलफल भयो,’ उनले भने, ‘बैंक, कृषिजन्य, अत्यावश्यक सेवा, अस्पताल सेवालगायतका सेवालाई क्रमशः सहजता दिलाउँदै अगाडि बढाउनका लागि मस्यौदा तयार भएर छलफल भएको छ, अर्को छलफलले थप निर्णय गर्नेछ ।’