अब बैंकका कर्मचारीलाई पास नचाहिने, परिचयपत्र देखाएर हिँड्न पाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय जान छुट्टै पासको आवश्यकता नपर्ने भएको छ । राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर परिचयपत्र देखाएर कार्यालय समयमा हिँड्न पाउने व्यवस्था मिलाएको छ ।

गत बैशाख १६ गतेदेखि बैंकको परिचयपत्र देखाएर हिँड्न नपाउने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले जारी गरेको पास बोकेर मात्रै बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालय जान आउन पाउँथे ।

तर, २ दिनदेखि परिचयपत्र बोकेर हिँड्ने कर्मचारीहरुलाई पनि प्रहरीले छाड्न थालेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई २० वटा, विकास बैंकलाई १० वटा, फाइनान्स कम्पनीलाई ८ वटा र लघुवित्त कम्पनीहरुलाई प्रतिसंस्था ६ वटा पासको व्यवस्था गरेको थियो ।

बैंकका कर्मचारी लकडाउनको बेला परिचयपत्रले मात्र हिड्न नपाउने, बैंकको पत्र चाहिने

एक सातायता लकडाउन केही खुकुलो भएको महशुस भएपछि बैंक तथा वित्तीय संस्थामा ग्राहकको चाप उच्च छ । बैंकहरुले खोल्ने शाखाको संख्या पनि बढाउन थालेका छन् ।

तर, परिचयपत्र साथमा बोकेर बैंक खोल्न गएका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेपछि बैंकहले राष्ट्र बैंकसमक्ष पासले मात्रै नपुगेको गुनासो गरेका थिए ।

बैंकहरुको गुनासो सम्बोधन गर्न राष्ट्र बैंकले काठमाडौं उपत्यकाका ट्राफिक प्रमुखलाई फोन गरेर परिचयपत्रका आधारमा मात्रै पनि कार्यालय समयमा हिँड्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

राष्ट्र बैंकको आग्रहपछि ट्राफिक प्रमुख भीम ढकालले उपत्यकाभरका ट्राफिकलाई आन्तरिक सर्कुलर गरिसकेका छन् ।

बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास दिन थाल्यो, वाणिज्य बैंकलाई २० वटा, अरुलाई कति ?

‘बाटोमा ट्राफिकद्वारा रोकिएकाहरुमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारी हुन्छन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने ‘ग्राहकको भिडले गर्दा सबै कर्मचारीलाई व्यवस्थापनले बोलाउँछ तर पास नभएको कारण आधा दिनसम्म बाटोमा नै रोकिनु पर्छ ।’

कार्यालयको कार्ड भिरेका कर्मचारीलाई निश्चत समयभित्र केही सहजता गरिदिन अनुरोध गरिएको उनले बताए ।

अत्यावश्यक सेवा अन्तर्गतका सेवाका कार्यरत कर्मचारी ककार्यलयको परिचयपत्रको आधारमा पनि सवारी चलाउन दिएको महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले बताए ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई राष्ट्र बैंक नियमन विभागको सिफारीसमा जारी भएको पासको आधारमा छोडिएको छ,’ ढकालले क्लिमाण्डूसँग भने ‘अत्यावश्यक सेवामा रहेका कर्मचारीहरुलाई आवश्यकता हेरी परिचयपत्रकै आधारमा पनि छाड्न सर्कुलर गरिएको छ ।’

काठमाडौं उपत्यका कमलपोखरी, कोटेश्वर, कलंकी, जडीबुटी नयाँ बानेश्बरलगायतका अन्य स्थानहरुमा ट्राफिक प्रहरीको चेकजाँचमा रोकिएका व्यक्तिमा सबैभन्दा बढी कार्यलयको परिचयपत्र भिरेका कर्मचारीहरु नै हुन्थ्ये ।

तर २ दिन अघिदेखि भने ट्राफिकको चेकजाँज केही खुकुलो हुनुका साथै कार्यलयको परिचयपत्र भिरेका कर्मचारीलाई ट्राफिकले सहज गरेको छ ।


पुष्प दुलाल