स्वास्थ्यमा बजेट अपुग भए मन्त्रालयबाट रकमान्तर हुन्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट अपुग भएमा मन्त्रालयबाट बजेट रकमान्तर गरेर भए पनि काम गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै मन्त्री खतिवडाले अहिले नै कोरोना समाधानका लागि आकस्मिक कोषमा ६ अर्ब रुपैयाँ छुट्याएको बताए ।

‘चालु वर्षमै हामीले ५ अर्ब रुपैयाँ खर्च गरिसकेका छौं, यसबाट उपकरण, उपचारमा खर्च भइरहेको छ, अहिले खरिद गरिसकेको बजेटबाट पनि केही महिना पर धकेल्न सकिन्छ, त्यसैका आधारमा बजेट बिनियोजन गरेको हो,’ उनले भने ।

उनका अनुसार त्यत्ति गर्दा पनि बजेट अपुग भए मन्त्रालयबाट बजेट रकमान्तर गरेर भए पनि रकम छुट्याउने बताए ।

‘अहिले स्वास्थ्य क्षेत्रमा रकम अपुग भयो भनिएको छ, तर ३ वर्षअघि २.५ प्रतिशत बजेट मात्रै जान्थ्यो भने अहिले ६ प्रतिशतभन्दा बढी छ, जसरी स्वास्थ्य क्षेत्रमा लगानी बढेको छ । अहिले नै १०/१२ प्रतिशत खर्च गर्न सक्ने गरी महत्वाकांक्षी हुन सक्ने अवस्था छैन,’ उनले भने ।


क्लिकमान्डु