बिरामीलाई अस्पताल, संक्रमितलाई घरमै राख्न सकिन्छः प्रवक्ता विकास देवकोटा



काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित र बिरामीलाई छुट्टाउनु पर्ने बताएका छन् ।

नेपाल टेलिभिजनसँग कुरा गर्दै प्रवक्ता देवकोटाले बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने र संक्रमित घरमै राख्न सकिने बताए ।

‘बिरामी र संक्रमितको परिभाषा फरक पारेर संक्रमितलाई घर मै राख्ने भन्ने पनि हुन सक्छ भने बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार पनि गर्न सकिन्छ,’ उनले भने ।

देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा चाप कम गर्नका लागि कुनै लक्षण नदेखिएका र संक्रमित मात्रै भएका व्यक्तिलाई घरमै आइसोलेसनमा राख्न सकिने उनको भनाइ थियो ।

उनका अनुसार हालसम्म १५६७ जना संक्रमित भइसकेका छन् । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ भने हाल १ हजार ३३९ जना संक्रमितहरु विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका छन् ।

त्यस्तै, उपचारपछि निको हुने संक्रमितहरुको संख्या २२० पुगेको छ । यो कुल संक्रमितमध्ये १६ प्रतिशत संख्या हो ।


क्लिकमान्डु