राज्यले सक्छ भने निजी विद्यालयलाई राष्ट्रियकरण गरेर लिए हुन्छः सांसद उमेश श्रेष्ठ



काठमाडौं । शिक्षासेवा तथा नेपाल कांग्रेसका सांसद उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको मातहतमा हुनुपर्ने तर राज्यले नसकेकै भएर निजी क्षेत्र होमिएको बताए ।

उनले स्वास्थ्य र शिक्षा क्षेत्र राज्यको जिम्मेवारी भएको बताए ।

‘सक्ने हो भने शिक्षा र स्वास्थ्य राज्यले गर्ने हो, अहिले राज्यले गर्न नसक्ने भएर निजी क्षेत्रले गरिरहेको छ । यसमा निजी क्षेत्रलाई रोक्न सक्यो भने भोलिका दिनमा राज्यले राष्ट्रियकरण गरेर लिए पनि हुन्छ । नसक्ने अवस्थामा पब्लिक, प्राइभेट पाटर्नरसिप भएर जाने हो,’ उनले भने ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले राज्यले उच्च शिक्षामा धेरै काम गर्नुपर्ने समेत बताए ।

‘वर्षेनी ७० हजार विद्यार्थीहरु बाहिर जान्छन्, उनीहरुका लागि स्वदेशमै विकल्प दिने योजना खोइ कहाँ छ ? अब विदेश पढ्न जाँदैनन भनेर उनीहरुलाई विकल्प दिएको छैन’ उनले भने ।

उनले इन्जिनियरिङ, कृषि, व्यवस्थापन जस्ता विषयमा नलेज बैंकका कुराहरुमा फोकस गरेर बजेट जानुपर्नेमा त्यसो नभएको बताए ।

उनले विकास निर्माणका लागि, रोजगारी सिर्जनाका लागि, शिक्षा र स्वास्थ्य सेवालगायतका विषयमा बजेट छरेर मात्रै नहुने भन्दै त्यसमा पनि खर्च गर्नुपर्ने बताए । उनले अहिलेको संकटको समयमा मानव जीवन कसरी जोगाउन सकिन्छ भन्नेतर्फ नै सरकारको ध्यान हुनुपर्ने बताए ।


क्लिकमान्डु