लकडाउनमा सुनको मूल्य ९ हजार १ सय रुपैयाँले बढेर ८६ हजार १ सय पुग्यो



काठमाडौं । लकडाउन अवधिमा सुनको मूल्य प्रतितोलामा ९ हजार १ सय रुपैयाँले बढेको छ ।

चैत १० गते नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य ७६ हजार रुपैयाँ निर्धारण गरेको थियो ।

कोरोना भाइसरको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गरेसँगै सुनचाँदी व्यवसायी महासंघले दैनिक सुनचाँदीको मूल्य प्रकाशन बन्द गरेको थियो ।

तर लगातार लकडाउन बढीरहँदा बजारमा सुनचाँदीको मूल्यबारे अन्योलता बढेको भन्दै अर्को सुनचाँदी व्यवसायीहरुको संस्था नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबार सुनचाँदीको मूल्य सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतितोला सुनको मूल्य ८६ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला ८९० रुपैयाँ मूल्य पुगेको छ ।

अहिले नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्यमा बजारमा खरिद बिक्री हुन्छ । तर हालसम्म सो महासंघले भने सुनको मूल्य सार्वजनिक गरेको छैन ।

लकडाउनबीचमै सुनको मूल्य सार्वजनिक गर्दा व्यवसायीहरुले व्यापार सञ्चालन गर्ने र कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम भएको हुँदा लकडाउन अवधिभर सुनको मूल्य सार्वजनिक नगर्ने महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए ।

सुनचाँदी व्यवसायी महासंघले लकडाउन अवधिभर सुनको नयाँ मूल्य सार्वजनिक नगर्ने भनिरहँदा सुनचाँदी व्यवसायीहरुको अर्को संस्था नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले भने बजेट भाषणको अघिल्लो दिन सुनको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

बजारमा सुनचाँदीको मूल्यमा अन्योलता बढेर साथै सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरुले स्वविवेकले सुनको मूल्य निर्धारण गरेको हुँदा आधिकारीक मूल्य सार्वजनिक गर्न बाध्य भएको महासंघका अध्यक्ष रमेश महर्जनले क्लिकमाण्डूलाई बताए ।

‘सुनचाँदी व्यवसायी महासंघसँग मूल्य सार्वजनिक गर्न समन्वय गर्न खोज्दा उहाँहरु सहमत हुन भएन,’ उनले भने ‘त्यसैले हाम्रो कार्यसमितिको निर्णय अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार सुनको नयाँ मूल्य निर्धारण गरिएको हो ।’

सार्वजनिक मूल्य अनुसार नै आवश्यकता अनुसार बजारमा सुनचाँदी खरिद बिक्री गरिने उनले बताए ।

कोरोनाको कारणले मानिसहरुको आयआर्जनको बाटो रोकिएको र आवश्यक गर्जो टार्न आफूसँग भएको सुन चिनजानको सुन पसलमा बिक्री समेत बजार भाऊबारे अन्योलता भएको हुँदा वास्तविक सुनको मूल्य सार्वजनिक गरिएको उनको भनाइ छ ।

‘लकडाउनमा केही परेमा सुन बेचेर टार्छु भन्नेलाई पनि पुरानै भाऊमा बेच्नु पर्ने हुन्छ,’ उनले भने ‘सार्वजनिक गरिएको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य र भन्सार शुल्कलाई समेटेर निर्धारण गरिएको छ ।’

बजेट भाषणपछि सुनमा भन्सार महशुल बढाइएमा सोहीअनुसार मूल्य समायोजन गरिने उनले बताए ।


क्लिकमान्डु