खारेज गर्न सिफारिस भएको राष्ट्रिय युवा परिषद्मा चार वर्षलाई नियुक्ति
काठमाडौं । सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्न सुझाव दिएको राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा माधव ढुंगेललाई चारवर्षको लागि पुनः नियुक्त गरेको छ ।
चारवर्ष अगाडि केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेला ढुंगेल युवा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । सरकारले अर्थविद डा डिल्लीराज खनालको संयोजकत्वमा गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले युवा परिषद लगायतका समिति तथा संस्थाहरु खारेज गर्न सुझाव दिएको थियो ।
सरकार आफैले गठन गरेको आयोगले दिएको सुझावलाई रद्दीको टोकरीमा फ्याक्दै सरकारले परिषद्लाई खारेज नगरेर उपाध्यक्षमा ढुंगेललाई चारवर्षको लागि नियुक्ति दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगेललाई चारवर्षको लागि परिषद्को उपाध्यक्षमा पुनः नियुक्ति दिने निर्णय गरेको हो । परिषद्मा कार्यकारी अधिकार उपाध्यक्षसँग रहने गर्छ ।
कोरोना संकटको कारण खर्च कटौती गर्न विज्ञ तथा स्वय सरकारले नै गठन गरेको आयोगले सिफारिस गरेपनि सरकारले त्यो काम नगर्ने संकेत दिएको छ ।