डा.शाक्यलाई इजरायली सरकारबाट उत्कृष्ट राजदूतको सम्मान
काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ बाट सम्मानित भएकी छिन् ।
‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९-२०२०’ सम्मान गर्ने घोषणा गरेको हो ।
९० वटा देशका दुतावासहरु रहेको इजरायलमा उक्त सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित भएकी हुन् । ९० वटै देशका राजदूतले उनको पक्षमा मत जाहेर गरेपछि उनी यो सम्मानबाट सम्मानित भएकी हुन् । उनी यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत हुन् ।
९० वटा देश मध्येबाट अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए । उक्त सम्मानको घोषणापछि राजदूत शाक्यले खुशी व्यक्त गरेकी छिन् । ‘यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको छु’ राजदूत शाक्यले भनिन्, ‘यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको छ ।’
राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिइन । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ उनले भनिन्, ‘ मेरो योग्यता र क्षमताले भ्यायसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’
उक्त उम्मानबाट विभूषित घोषणा गर्ने कार्यक्रममा राजदुत शाक्य पनि सहभागी थिइन । २०७५ फागुन ३ गते राजदूतमा नियुक्त शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गर्दै आएकी छिन् ।
राजदूत शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिइन ।
डा. शाक्यले राजदूत भएर पद बहालीपछिको यो अवधिमा इजरायल र नेपाल बीच विभिन्न विषयमा सम्झौता गरी इजरायलबाट नेपाललाई प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग दिलाउन उल्लेख्य भूमिका निर्वाह गर्दै आएकी छिन् ।
केही दिन अघि मात्रै डा. शाक्यकै पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देश बिच व्यापार व्यवसाय आदान-प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।
डाक्टर शाक्यले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी थिइन ।
उनले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताइन् ।
गत मंसिरमा डाक्टर शाक्यकै पहलमा इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनका लागि नेपाल आएको थियो । शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट गरेको थियो ।