उपयुक्त वातावरण नबने ६ महिना कानूनीरुपमा होटल बन्द गर्ने होटल संघको चेतावनी



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले सकारकारले आगामी बजेटमार्फत् उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रम ल्याउन माग गरेको छ ।

सोमबार विज्ञप्ती जारी गर्दै हानले अपेक्षाकृत रुपमा होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानूनी रुपमै बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

‘विषम् परिस्थितमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जीवित राख्नका लागि सरकारले बजेटमार्फत् सम्बोधन गर्नुपर्छ,’ अध्यक्ष सिर्जना राणाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हानले बजेटमार्फत होटल संघ नेपालले मूलरुपमा रोजगारी संरक्षणकोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी ३ वर्ष पछि सार्न, ब्याजदर घटाउन, घरभाडालगायतका खर्च धान्न सस्तो व्याजदरमा ऋण दिन समेत माग गरेको छ ।

साथै बजेटमार्फत् २०३० सम्म पर्यटन सुदृढिकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम सञ्चालन गर्न र पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिन पनि संघले माग गरेको छ ।

होटलमा क्वारेन्टिन
संघले होटलहरुलाई आवश्यताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने बारे होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशकसँग विस्तृत छलफल गरी यस सम्बन्धमा संघले तयार पारेको विस्तृत विवरण बुझाइसकेको छ ।

‘अध्यक्ष राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सिर्जित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनीकरण गर्न गराउन सघाउ पुर्याउन विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वारेन्टिनका रुपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आवद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने जनाएको छ ।

स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार गर्न सकिने क्वारेन्टिनको व्यवस्थाबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ ।

खासगरी क्वारेन्टाइनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको एकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येकदिन पटक–पटक स्वास्थ्य जाँच हुनुका अतिरिक्त नेपाल सरकारले होटल सञ्चालनका लागि कानूनी अनिवार्य सर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रियस्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समूदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने पनि विवरणपत्रमा उल्लेख गरिएको छ ।

क्वारेन्टाइन अवधिभर उपलब्ध गराइने तोकिएको ४ छाक पौष्टिक स्वास्थवद्र्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गिकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यूनतम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ ।

संघले पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचना/उपकरणहरुको संचालनलाई ध्यानमा राखेर क्वारेन्टिनको रुपमा होटल सञ्चालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने जनाइएको छ ।

साथै क्वारेन्टाइनको रुपमा सञ्चालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ ।

यसरी होटललाई क्वारेन्टिनको रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि संघले जोड दिएको छ ।

होटल संघ नेपालको देशैभरी छरिएका रहेका साथै ७ वटै प्रदेशमा रहेका १५ क्षेत्रीय संघ अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य छन् ।


क्लिकमान्डु