टिचिङका डाक्टरलाई होटलमा क्वारेन्टिन राख्दा स्थानीयले विरोध गरेपछि प्रहरी परिचालन
काठमाडौं । टिचिङ अस्पताल महाराजगञ्जमा कार्यरत डाक्टरहरुलाई गौशलास्थित होटलमा क्वारेन्टिन राख्न खोज्दा स्थानीयले विरोध गरेपछि प्रहरी परिचालन गरिएको छ ।
आइतबार राति टिचिङ अस्पताल महाराजगञ्जमा कार्यरत २४ जना डाक्टरलाई गौशलास्थित रामानाम होटलमा क्वारेन्टिनको व्यवस्था गरिएको थियो । तर डाक्टरहरु राख्ने थाहा पाएपछि स्थानीयहरु जम्मा भएर विरोध गरेका थिए ।
‘आइतबार राति ८ बजेतिर डाक्टर साबहरु आउनु भएको थियो, त्यो थाहा पाएर स्थानीय ३०/३५ जना जम्मा भएर विरोध गर्नु भएछ पछि प्रहरी परिचालन गरी विवाद समाधान भयो,’ होटलका सञ्चालक खेमराज उप्रेतीले भने ।
उनका अनुसार स्थानीयले विरोध गरेपछि ५ जना डाक्टर होटलमा बस्न नै आएनन् । स्थानीयहरुले डाक्टरहरु बसेपछि समूदायमा कोरोना फैलाने भन्दै विरोध गरेका थिए । विवाद साढे १० बजेसम्म चलेको थियो ।
उप्रेतीका अनुसार आइतबार २४ जनामध्ये १९ जना मात्रै डाक्टर त्यहाँ बसेका थिए । बाँकी ५ जना डाक्टर विवाद बढेपछि होटलमै आएनन् । उनका अनुसार अहिले पनि २ जना प्रहरीले होटलमा सुरक्षा दिइरहेका छन् ।
‘हिजो विवाद चर्को हुँदै गएपछि ५ जना आउनु भएन, सायद उहाँहरु आज आउनुहुन्छ होला,’ उनले भने ।
नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार आइतबार गौशलास्थित होटल रामनाममा २४ जना, होटल पशुपति बुटिकमा २० जना र हिरण्य होटलमा ५ जना डाक्टरहरुलाई राख्ने भनिएको थियो । तर होटल रामनाममा विरोध भएपछि समस्या सिर्जना भएको थियो ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयले समयमै प्रहरी परिचालन नगर्दा समस्या उत्पन्न भएको थियो ।